काठमाण्डौ । राजधानीलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो र तेश्रो चरणमा पोखरा र पूर्वाञ्चललाई लोडसेडिङमुक्त गर्ने घोषणा गरेका छन् । 

उनले विगत १५ दिनदेखि पोखरामा समेत बिजुली नगएको उल्लेख गर्दै सो क्षेत्र पूर्ण रुपमा एकदुुई दिनमै लोडसेडिङमुक्त हुने बताएका छन् । 

उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा कुुलमानले पोखरापछि पूर्वाञ्चल विकास क्षेत्रलाई लोडसेडिङमुक्त गरिने घोषणा गरे । ‘अहिले पनि पूर्वाञ्चलका धेरै क्षेत्रमा पावर जाँदैन ।’ उनले भने–‘पोखरापछि पूर्वाञ्चललाई पनि लोडसेडिङमुक्त बनाइनेछ ।’ 

उनका अनुसार पछिल्लो समय बुटवल र पश्चिम नेपालका धेरै क्षेत्रमा अहिले दैनिक डेढघण्टा मात्र लोडसेडिङ हुने गरेको र ती क्षेत्रको विद्युत आपूर्तिमा पनि आमूल सुधारको गृहकार्य भइरहेको छ।

उद्योगी व्यवसायीहरुलाई उनले विद्युत महसुल तत्काल नबढ्ने पनि वचन दिए । भारतबाट चर्को मूल्यमा विद्युत आयात गरेर लोडसेडिङमुक्त अभियान संचालन गरेका केही टिप्पणीहरुप्रति लक्षित गर्दै कुलमानले ती हल्ला निराधार रहेका स्पष्ट पार्दै भने–‘खपत हुने प्राइम टाइममा प्रति युनिट ५ रुपैयाँ ७५ पैसामा बिजुली आयात गर्ने गरिएको छ । बिजुली आयात गरेर मात्रै लोडसेडिङ हटेको होइन, आन्तरिक उत्पादन, चुहावट नियन्त्रण लगायतका कामलाई समेत विशेष ध्यान दिइएको छ ।’ 

सोही कार्यक्रममा बोल्दै उर्जामन्त्री जनार्दन शर्मा प्रभाकारले विगतमा केही व्यक्ति पैसामा बिक्दा लोडसेडिंगको चरम मार मुलुक र मुलुकबासीले व्यहोर्नुपरेको उल्लेख गर्दै लोडसेडिंगमुक्त अभियानमा सर्वसाधारणहरुले साथ दिनुपर्नेमा जोड दिए । उनले उद्योगीहरुले मागेजति विद्युत दिन सरकार तयार रहेको पनि बताए । इन्भर्टर र ब्याट्रीको व्यापार गर्ने व्यवसायीलाई यो व्यवसाय नै परिवर्तन गर्न सुुझाव दिंदै उनले भने–‘अब तपाईका इन्भर्टर र ब्याट्री बिक्दैनन् । म जति पनि बिजुली दिन तयार छु, बरु अन्य उद्योग खोल्नुहोस्, अरु व्यवसाय थाल्नुुहोस् ।’