काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले ६६.६७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।
 
पूँजीबजार संचालक नेप्सेले आर्थिक वर्ष २०७४/७५ का लागि आफ्ना सेयरधनीलाई बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
 
नेप्सेले आफ्नो वार्षिक साधारणसभा आइतबार आह्वान गरेको छ । सोही सभाले बोनस सेयर सम्बन्धी प्रस्तावित अजेण्डा पारित गर्ने कार्यक्रम छ ।
 
हाल नेप्सेको चुक्तापूँजी ३० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पारित भएपछि बढेर ५० करोड माथिको उचाईमा पुग्नेछ ।
 
हाल यो कम्पनीमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर होल्डिङ रहेको छ । यसैगरी, नेपाल राष्ट्रबैंकको ३४.६० प्रतिशत, एनआइडिसीको ६.९२ प्रतिशत र अन्यको ०.६२ प्रतिशत होल्डिङ रहेको छ ।
 
नेप्सेले सेयर कारोबारको क्रममा पाउने कमिसन घटेका कारण आर्थिक वर्ष २०७४/७५ मा नेप्सेको खूद नाफा घटेर २६ करोडमा सीमित भएको छ । अघिल्लो वर्ष नेप्सेको यस्तो नाफा ३७ करोड बढी थियो ।