-रामहरि न्यौपाने 
बेत्रावती । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । 

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । 

सरकारले उक्त सडक आयोजनाका लागि रु नौ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभीमार्फत भइरहेको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमी सडकको ट्र्याक खोल्ने जिम्मेवारी पूरा गरी नेपाली सेनाले गत चैत ३० मा आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारमार्फत निर्माण भइरहेको छ । 

सो आयोजनाअन्तर्गत नुवाकोट पीपलटारदेखि ढुङ्गेसम्मका प्रभावित स्थानीयवासीले मुआब्जाको माग गर्दै आज दुई घण्टा सडक अवरुद्ध पारेका छन् । 

आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सवारी साधन सञ्चालनमा अवरोध पु¥याएका छन् । 

मुआब्जा पीडित सङ्घर्ष समितिको आयोजनामा मध्याह्न १२ देखि अपराह्न २ बजेसम्म गरिएको बन्दले नुवाकोट हुँदै चल्ने छोटो तथा लामो दूरीका सबै सवारी साधन ठप्प बनेका थिए । 

बन्दपछि आयोजित कोणसभामा चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत सवारी बन्द गराएको र मागको सुनुवाइ नभए थप सङ्घर्षका कार्यक्रम ल्याउन बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले चेतावनी दिनुभयो । “विकासको विरोधी भनेर हामी निर्माण कार्य रोक्ने पक्षमा छैनौँ,” उहाँले भन्नुभयो, “एउटै आयोजनामार्फत भइरहेको कार्यको कहीँ दिने र कहीँ नदिने विभेदका विरुद्धमा हामी आन्दोलित भएका हांै ।” 

यो आयोजनाअन्तर्गत धादिङको गल्छीदेखि नुवाकोट हँुदै रसुवा र चीनको सीमा क्षेत्र रसुवागढी नाकासम्म सडक विस्तार भइरहेको छ । सडकको गल्छी–देवीघाटको मुआब्जा निर्धारण गरी रकम वितरण भइरहेको छ । 

यस्तै, विदुर नगरपालिका–१ ढुङ्गेदेखि मैलुङसम्मको पनि मुआब्जा निर्धारणको प्रक्रियामा रहेको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिशूली–ककनी–बालाजुखण्डमा पर्ने पासाङल्हामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारका क्रममा सडकको पहुँचमा आइसकेकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि कानून अभावमा पीपलटार–ढुङ्गेसम्मको भने मुआब्जा दिन नसक्ने अवस्था छ । 

पीपलटार–ढुङ्गे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । मुआब्जा माग गर्दै प्रभावित बासिन्दाले यसअघि चरणबद्ध रुपमा विरोध प्रदर्शन गरेका थिए भने आगामी दिनमा जिल्ला बन्दसम्मको थप विरोधका कार्यक्रम घोषणा गरेका छन् । 

यहाँबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रतिनिधिसभाको संसद् बैठकदेखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर मुआब्जा उपलब्ध गराउन ध्यानाकर्षणसमेत गराएका छन् । विभिन्न चरणमा विरोधका कार्यक्रम गर्दै आएका स्थानीयवासीले सडकको निर्माण कार्यमा भने अवरोध पु¥याएका छैनन् ।