काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले तीन जिल्ले र एक जिल्ले गरी २ विकास बैंकसँग प्राप्तिको सम्झौता गरेको छ । 

नेपाल राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने प्रयास स्वरुप यो बैंकले तीन जिल्ले नेपाल कम्युनिटी डेभपलमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकसँग प्राप्तिको सम्झौता गरेको हो । 

नेपाल राष्ट्रबैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ । ०७४ असार मसान्तसम्म तोकिएको पूँजी पुर्याउनुपर्ने सीमाका कारण अहिले बैंक तथा बित्तीय संस्थाबीच मर्जर, एक्वीजिसन लगायत चुक्तापूँजी वृद्धिको अन्य विकल्पमा जाने लहर नै चलेको हो । 

सांग्रिलालले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी सांग्रिला बैंकका संचालक समिति अध्यक्ष सुरेन्द्रबहादुर भारिजुले दुवै बैंकका अध्यक्षसँग प्राप्ति(एक्वीजिसन)को सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको तर्फबाट अध्यक्ष पशुपति घिमिरे र कसमस बैंकका अध्यक्ष डा. टेकनाथ ढकालले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

सबै बैंकको बोनस सेयरसमेत जोडेर सांग्रिला डेभलपमेन्ट बैंकको प्राप्तिपछि चुक्तापूँजी १ अर्ब ५७ करोड पुग्नेछ । त्यसपछि करिब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गरी चुक्तापूँजी १ अर्ब ८७ करोड पुर्याउने बैंकको योजना छ। 

त्यसपछि अपुग चुक्तापूँजीका लागि भविष्यमा कुनै संस्था गाभ्ने वा मर्जरमा जाने वा करिब ६५ करोड बराबरको हकप्रद जारी गर्ने यो बैंकको रणनीति रहेको छ । 

एक्वीजिसनपछि सांग्रिला डेभलपमेन्ट बैंकसँग १३ अर्ब ३६ करोड निक्षेप र ११ अर्ब ७० करोड कर्जा हुनेछ । सबै बैंकको गरी कुल शाखा ४३ वटा पुुग्नेछ भने ४ वटा एक्सटेन्सन काउण्टर तथा ६ वटा माइक्रो फाइनान्स ब्राञ्चहरु हुनेछन् ।