-चन्द्रकान्त खनाल
रुपन्देही । प्रदेश नम्बर ५  नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन् । 

प्रदेश ५ प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महङ्गोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडी नचढ्ने र निश्पक्ष छानबिन हुनुपर्ने माग गर्दै चढ्दै आएको गाडी फिर्ता गरेका हुन् । 

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिव दुर्लभकुमार पुन मगरलाइ फिर्ता गरेका छन् ।

सचिवालयमा चाबी बुझाउँदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भने–‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानबिन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन । त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुँ ।’

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिव लगायतलाई भन्दै हालै १३ वटा(टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो । 

खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनका लागि समितिका सदस्य कुलप्रसाद पोखरेल(नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानबिन भइरहेको छ ।

सो उपसमितिमा बैजनाथ जयसवाल(कांग्रेस )र कल्पना पाण्डे(राष्ट्रिय जनता पार्टी)सदस्य छन् । उपसमितिको बैठक आज पनि बसेको थियो । गाडी खरिदमा केही कमजोरी फेला परेको  सदस्य बैजनाथ जयसवालले बताए ।

उपसमितिले ६ गते प्रतिबेदन लेखा समितिलाई बुझाउने तयारी गरेको उनले लेखा समितिका सभापतिले पनि आफूलाई उपलब्ध गराईरहेको लु १ झ ४४१ नं. को गाडी फिर्ता गरेका छन् ।

पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले गाडी फिर्ता गरेका थिए । प्रदेश ५ मा गाडी खरीद प्रकरणले चर्चा पाएको छ।