काठमाण्डौ । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम'का लागि जनता बैंकले सचेतनामूलक सामाग्री प्रदान गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगतिबिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउँदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले कार्तिक ११ गते देखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो । सोही कार्यक्रमलाई बैंकले सहयोग गरेको हो  

महानगरीय प्रहरी परिसर टेकुमा नबनिर्मित नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बैंकको सँस्थागत मामिला तथा सँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५,००० थान जानकारीमूलक स्टिकर प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरे ।

ती स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँस गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । 

समुदायमा शंकास्पद मानिस, चिजवस्तु देखेमा वा सुरक्षा सम्बन्धी सहयोग, जानकारी र गुनासो भएमा वा तत्काल प्रहरीको सहयोग आवश्यक परेमा स्टिकरमा उल्लेख गरिएका नम्बरहरुमा सम्पर्क गर्ने ब्यबस्था मिलाइएको छ । प्रहरीकाअनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । 

यसै शिलशिलामा हालै चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भवन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अवस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको बताइएको  छ । 

यसैगरी, त्रिवेणीघाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।