काठमाण्डौ । युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले बुधबार कारोबार सुरु भएको एकघण्टाभित्रै ७६ करोड ८२ लाख रुपैयाँ गुमाएका छन् । 

हिजोदेखि नै निरन्तर घटिरहेको यो कम्पनीको सेयर मूल्य बुधबार कारोबार सुरु भएको पहिलो एकघण्टाभित्र प्रतिकित्तामा ८ सय ३५ रुपैयाँले गिरावट आई २० हजार २७४ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

यो कम्पनीको सेयरमूल्यमा मंगलबार एकैदिन प्रतिकित्तामा १७७४ रुपैयाँले गिरावट आएको थियो ।  

मंगलबार ७.७५ प्रतिशतले कम्पनीको मूल्य घटेकोमा बुधबार पहिलो एकघण्टामा ४ प्रतिशतको हाराहारीमा मूल्य घटिसकेको छ ।

नेपालको दोश्रो बजारमा युनिलिभर नेपाल लिमीटेड नै सबैभन्दा महंगो सेयर मूल्य भएको कम्पनी हो । 

यो कम्पनीको दोश्रो बजारमा ९ लाख २० हजार कित्ता सेयर सूचिकृत छ । हिजो मात्र यो कम्पनीका लगानीकर्ताले १ अर्ब ६३ करोड ८० हजार रुपैयाँ गुमाएका थिए । आजको पहिलो एकघण्टाको गिरावटलाई समेत हिसाब गर्दा लगानीकर्ताले साढे २ अर्बको हाराहारीमा सम्पत्ति गुमाइसकेका छन् ।

कम्पनीको वर्षेनी घटिरहेको प्रतिफलका कारण महंगो सेयर मूल्य भए पनि लगानीकर्ताको यो कम्पनीप्रतिको आकर्षण घटेको छ । 

विश्व बजारबाट युनिलिभरका उत्पादनलाई टक्कर दिने अन्य गुणस्तरीय उत्पादन नेपालमा भित्रिन थालेपछि यसको कमाई समेत घट्न थालेको छ। यसैको असर कम्पनीको सेयर मूल्यमा देखिएको हो ।