काठमाण्डौ । उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

केही समयदेखि अध्यक्ष भवानी राणाको निर्देशनलाई अटेर गर्दै आएका कोषाध्यक्ष प्रधानमाथि महासंघसम्बन्धी सूचनालाई तोडमोड गरी मिडियासम्म पुर्याएको र नेतृत्वलाई आधारहीन फतुर लगाएको आरोप लगाइएको छ । 

कोषाध्यक्ष प्रधानले महासंघको कृषि उद्यमकेन्द्रमा भ्रष्टाचार भएको भन्दै आधारहीन सूचना मिडियालाई दिएर बदनाम गराउन खोजेको भन्दै अध्यक्ष राणा उनीप्रति रुष्ट थिइन् ।

महासंघको आज बसेको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष राणाले मिडियालाई कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै प्रधानले सूचना दिएको प्रमाण पेश गरेपछि उनले राजीनामा दिएका थिए ।

प्रधानले आधारहीन फतुर नेतृत्वलाई लगाएको बिषयमा आजको बैठकमा उनीविरुद्ध एक्सन लिने महासंघ अध्यक्ष राणाको तयारी थियो । उनले गलत सूचना मिडियासम्म पुर्याएर भ्रम फैलाउन खोजिएको र आफूलाई बद्नाम गराउन खोजिएको भन्दै प्रधानलाई बर्खास्त गर्ने तयारी गरेकी थिइन् ।

अध्यक्षको तयारीको बिषयमा पहिला नै जानकार प्रधानले बर्खास्तगीबाट बच्न राजीनामा दिएका स्रोतको दाबी छ ।

कोषाध्यक्ष प्रधानकै नेतृत्वमा कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालिएको बताइएको छ । तर, अख्तियारले सो बिषयमा परेको उजुरीमा गरिएको दाबीको प्रष्ट आधार नदेखिएको बताएको छ ।