काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को विवाद छताछुल्ल बनेको छ । कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै विवाद सतहमा ल्याइएसँगै कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । 

अहिले झट्ट हेर्दा कृषि उद्यम केन्द्रमा भएको भनिएको भ्रष्टाचारको बाहानामा विवाद देखिएको भए पनि यसको भित्री कुरा भने अर्कै छ । 

स्रोतहरुका अनुसार कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको विषय बाहिर ल्याएसँगै ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका देखिएको छ । तर, सतहमा यस्तो देखिए पनि यो प्रकरणसँगै महासंघको हालसम्मको समीकरण परिवर्तन हुनेछ । महासंघका नेताहरु भित्रभित्रै उकुसमुकुसको अवस्थामा बसिरहेका भए पनि अब भने उनीहरुको समेत कित्ताकाट हुनेछ, यो प्रकरणले सबैलाई आ–आफ्नो कित्तामा उभ्याइदिनेछ ।  

विवादको जड अर्कै
अहिले विवादको विषय कृषि उद्यम केन्द्र र त्यहाँको हिसाबकिताब देखिए पनि महासंघको विधान संसोधनका लागि जिल्ला जिल्लाबाट आएको व्यापक दवाब र त्यसले मुखैमा आएको नेतृत्वको अवसर गुम्ने डरले बढी काम गरेको देखिन्छ । 

उद्योग वाणिज्य महासंघले बहुसंख्यक पूर्वअध्यक्षहरुको असहमति हुँदा हुँदै यसअघि विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनसक्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यही व्यवस्थाको फाइदा उठाउँदै भवानी राणा अध्यक्षको रुपमा कार्यरत छिन् । तर, विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाले महासंघलाई राम्रो नगर्ने देखिएसँगै पछिल्लो समय निकै धेरै जिल्लाहरुबाट विधान संसोधनका लागि व्यापक दवाब सिर्जना भएको छ । 

जिल्लाहरुले लगातार नेतृत्वलाई विधान संसोधनका लागि दवाब दिएसँगै महासंघका विशिष्ट सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालको संयोजकत्वमा विधान संसोधन समिति गठन भइसकेको छ । सो समितिले सक्रियतापूर्वक काम गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था खारेजीको सुझावसहित आगामी साधारणसभामा पेश गर्ने तयारी गरेको छ।

अधिकांश जिल्ला उद्योग वाणिज्य संघ तथा प्रादेशिक उद्योग वाणिज्य संघ समेत विधान संसोधन गरी पहिलाकै व्यवस्थामा महासंघलाई लैजानुपर्नेमा एकमतजस्तो देखिएपछि यसले विवादको विजारोपण गरिदिएको हो । यसको अर्थ महासंघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विश्वमै कहीँ नभएको व्यवस्था खारेज गर्नेछ ।  

‘हालसम्म २५ वटाभन्दा बढी जिल्ला संघहरुबाट विधान संसोधनका लागि दवाब दिने उद्देश्यले लिखित पत्र नै प्राप्त भइसकेको छ ।’ विधान संसोधन समितिका एक सदस्यले बिजशालासँग भने–‘प्रत्येक प्रदेशले समेत यो विषयमा सहमति जनाएका छन् र उनीहरुले पनि विधान संसोधनका लागि लिखित दवाब दिंदैछन् । बाँकी रहेका अन्य जिल्लाबाट समेत पत्र आउने क्रम सुरु भइसकेको छ ।’ 

शेखर गोल्छा तनावमा !
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने विधान संसोधन हुने लगभग पक्कापक्कीजस्तै देखिएपछि सबैभन्दा बढी तनाव शेखर गोल्छालाई भएको छ । उनी हाल महासंघका वरिष्ठ उपाध्यक्ष हुन् । 

अहिलेकै विधान यथावत रहँदा महासंघको आगामी अध्यक्ष उनै हुन् । तर, गोल्छाको जिल्ला नगरका उद्योगी व्यापारीसँग भिज्न नसक्ने, ठूलो पल्टिने, जिल्लाका व्यवसायीको पीरमर्का बुझ्न नसक्ने अवगुणहरुका कारण उनलाई जिल्ला नगरका व्यवसायीले अध्यक्षमा आएको देख्न नचाहेका स्रोत दाबी गर्छ । 

एकातिर केन्द्रको परिवर्तित समीकरण अनुसार महासंघका सदाबहार खेलाडी मानिएका चण्डीराज ढकाल समेत शेखर गोल्छालाई कुनै पनि हालतमा अध्यक्ष बन्न नदिने अडानमा छन् । गोल्छाले आफूलाई असहयोग गरेका कारण भित्री रुपमा भवानी राणा समेत यही लाइनमा छिन् । 

जिल्ला नगरमा निकै राम्रो पकड राख्ने चण्डीराज ढकाल नै आफ्नो विरुद्धमा उत्रिएपछि शेखर मुखमै आइसकेको अध्यक्ष पद समेत गुम्ने कुराले तनावमा रहेका उनी निकट स्रोत बताउँछ । 

आफूलाई अध्यक्ष बन्न नदिनकै लागि चण्डी ढकाल समूह मैदानमै उत्रिएपछि उनीहरुलाई काउण्टर दिन र ढकालले जिल्लानगरदेखि केन्द्रसम्म बनाएका विधान संसोधनको सहज व्यवस्थालाई बिथोल्ने उद्देश्यले गोल्छा समूहकै डिजाइनमा कृषि उद्यम केन्द्रको विषय बाहिर ल्याइएको ढकाल समूहको दाबी छ । 

फेरियो समीकरण 
कृषि उद्यम केन्द्रको नाममा केही महिनादेखि भित्रभित्रै आपसी शंका–उपशंकामा रुमल्लिएको महासंघमा गुट र समीकरण पनि परिवर्तन भइसकेको छ । 

अहिले चण्डीराज ढकाल, भवानी राणा, रविभक्त श्रेष्ठ लगायतको एउटा गुट छ भने पहिला यही गुटमा रहेका शेखर गोल्छा, पशुपति मुरारकाले आफ्नो अलग्गै गुट बनाएका छन् । उनीहरुको गुटमा ज्ञानेन्द्रलाल प्रधान समेत छन्।

महासंघका उपाध्यक्ष चन्द्र ढकालको भित्री समर्थन शेखर गोल्छा गुटलाई रहेको, तर बाहिर भने उनले ढुलमुले प्रवृति प्रदर्शन गर्ने गरेका छन् । भित्री रुपमा ढकाल समेत वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधान आफ्नो पालासम्म यथावत नै रहोस् भन्ने चाहना राख्ने गरेका छन् । 

केही समयअघि राष्ट्रपतिको कतार भ्रमणमा सहभागी भएर गएका ढकालले केही उद्योगपतिसँग आगामी अधिवेशनबाट आफू वरिष्ठ उपाध्यक्ष बन्ने र आफ्ना पालासम्म अहिलेको विधान संसोधन नहुने व्यवस्था मिलाउने कार्यमा सहयोग गरिदिन आग्रह गरेका थिए । 

अब के हुन्छ ?
कृषि उद्यम केन्द्रमा भएको गडबडीको नाममा महासंघभित्रको विवाद र परिवर्तित गुट तथा समीकरण सतहमा आइसकेको  छ । महासंघको नियमित साधारणसभा आगामी चैतमा हुँदैछ । सोही साधारणसभामा विधान संसोधनको प्रस्ताव पारित गर्ने ढकाल समूहको योजना छ । मुरारका र गोल्छा समूह भने सो साधारणसभामा विधान संसोधन कुनै पनि हालतमा गर्न नदिने रणनीतिमा छ । तर, जिल्लानगरमा उनीहरुको पकड निकै कमजोर रहेका कारण ढकाल नेतृत्वको समूहले बनाएको योजनालाई रोक्न उनीहरुलाई निकै गाह्रो देखिन्छ । 

आगामी चैतमा नियमित साधारणसभा गरी विधान संसोधन गर्ने र एक दमदार व्यवसायीलाई अध्यक्षको उम्मेद्वार घोषणा गरी आगामी महाधिवेशनको दौडधूप सुरु गर्ने चण्डी ढकाल समूहको रणनीति छ । आगामी चैतमा नियमित साधारणसभा र अर्को चैतमा नेतृत्व चयनसहितको अधिवेशन हुनेछ । 

शेखर गोल्छालाई अध्यक्षमा रोकेसँगै ढकाल समूहले किशोर प्रधानलाई अध्यक्षमा अगाडि सार्ने संभावना छ । तर, यो समूहमा किशोर भन्दा अझ दमदार उम्मेद्वारको समेत खोजी भइरहेको बताइन्छ । 

उता, गोल्छा समूह भने सकेसम्म विधान नै संसोधन हुन नदिने रणनीतिमा छ । विधान संसोधन भइहाले अध्यक्षको चुनाव नलड्ने, बरु महासंघ नै परित्याग गर्ने मूडमा गोल्छा र मुरारका रहेका स्रोतहरु दाबी गर्छन् ।