काठमाण्डौ । प्रभू बैंकले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग 'मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ' अभियानमा सहकार्य गर्ने भएको छ । 

माघ १६ गते सो अभियान अन्तर्गत छोरी शिक्षा बिमा तथा मुद्धती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धमा बैंकले मुख्यमन्त्रीको कार्यालयसँग सम्झौता गरेको हो । 

२ नं. प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाँल र प्रभु बैंक लिमीटेडका तर्फबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरेका थिए ।

सम्झौताअनुसार पहिलो चरणमा यो कार्यक्रम प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्ला सञ्चालनमा आइसकेको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ । 

यो अभियानअन्तर्गत २०७५ माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिका लागि मुद्दती खाता खोलिदिनेछ । 

मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खातामार्फत २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने छन् । 

खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएमा वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र ब्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंकले आफूलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउने अग्रसरता देखाएको छ । 

निरन्तर व्यवसायिक सफलता हासिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई सामाजिक उत्तरदायित्व वहन गर्ने अवसरको रुपमा लिएको प्रष्ट पारेको छ ।