काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको छ ।

आयोजना प्रभावितका लागि निश्कासन भएको आइपीओमा सुपर फ्लप भएको कम्पनीले सो बेला बिक्री नभएको कित्ता समेत जोडेर सर्वसाधारणका लागि भनी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निश्कासन गरेको छ । 

ग्रेड फोरको रेटिङ पाएको कम्पनीको आइपीओमा लगानी गर्ने या नगर्ने भन्ने बिषयमा धेरैमा अन्यौल देखिएको छ । यो रेटिङले कम्पनीको अवस्था औसत भन्दा पनि कमजोर रहेको जनाउँछ ।

त्यसो त कम्पनीका अधिकारीहरुले विभिन्न सार्वजनिक संचारमाध्यमहरुमा प्रायोजित ढंगले कम्पनीको बिषयमा राम्रो प्रचार गरिरहेका छन् । ती अधिकारीको प्रचारप्रसारको पछि लाग्नु भन्दा पनि कम्पनीको अवस्था, लगानीमा आउने प्रतिफलको अवधि लगायतको बिषय हेरेर लगानी गर्नु बुद्धिमानी ठहर्छ । 

आयोजनाले साच्चिकै राम्रो रिटर्न छोटो अवधिमा दिने थियो भने आयोजना प्रभावितबाट बहिस्कारमा पर्ने थिएन । आयोजना प्रभावितले यो आयोजनाको विषयमा स्थानीय स्तरबाट जति राम्ररी बुझ्ने मौका पाउँछन्, सर्वसाधारणले त्यो मौका पाउँदैनन् । सर्वसाधारणले त कम्पनीकै मानिसले तयार गरेका विवरणपत्र हेर्नुको विकल्प छैन । तसर्थ, आयोजना प्रभावितले यो कम्पनीको आइपीओलाई किन मन पराएनन् भन्ने बिषय लगानीकर्ताले खोज्न आवश्यक छ ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलले राखेको कम्पनीको विवरणपत्र हेरे पनि यो कम्पनीमा लगानी गर्नु उति धेरै बुद्धिमानी नहुने प्रष्ट हुन्छ । 

यो कम्पनीको आर्थिक वर्ष ०७४/७५ मा प्रतिसेयर आम्दानी ८६ पैसाले नेगेटिभ थियो । चालु आर्थिक वर्षमा यस्तो आम्दानी ०.२५२ रुपैयाँ हुने कम्पनीको प्रक्षेपण छ । कम्पनी स्वयम्ले आर्थिक वर्ष ०७६/७७ मा ९.३०३ रुपैयाँ प्रतिसेयर आम्दानी हुने र त्यसपछिको आर्थिक वर्ष(०७७/७८ )मा प्रतिसेयर आम्दानी १०.४६८ रुपैयाँ हुने प्रक्षेपण गरेको छ । 

अघिल्लो आर्थिक वर्ष ९७ लाख बढी घाटामा रहेको यो कम्पनीले चालु आर्थिक वर्षको अन्तसम्ममा ५३ लाखको हाराहारीमा नाफा कमाउने दाबी समेत विवरणपत्रमा गरेको छ । ०७६/७७ मा १९ करोड ५३ लाख र त्यसपछिको वर्षमा करिब २२ करोड नाफा हुने प्रक्षेपण गरिएको छ । 

कम्पनीको नेटवर्थमा औसत प्रतिफल चालु आर्थिक वर्षमा ०.३३ प्रतिशत मात्र हुनेछ । ०७६/७७ मा ८.९७ र ०७७/७८ मा ९.१३ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । 

कम्पनीले लिएको ऋण तिर्न १२ वर्ष लाग्ने देखिन्छ ।  

यो कम्पनीले सुरुमा ८.२६ मेगावाट क्षमता(संसोधनपछि ११ मेगावाट)को तल्लो खारे खोला जलविद्युत आयोजनाका लागि लगानी जुटाउने उद्देश्यले आइपीओ निश्कासन गरेको हो । यो आयोजनाको प्रति मेगावाट लागत १८ करोड ६० लाख हुने अनुमान गरिएको छ । 

साधारण लगानी फिर्ता हुन ७.९० वर्ष लाग्नेछ । डिस्काउण्टमा लगानी फिर्ता हुन १४.५८ वर्ष कुर्नुपर्नेछ । 

कम्पनीमा संस्थापक शेयरधनीको रुपमा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड , राधि विद्युत कम्पनी लिमिटेड, खारे इनभेष्टमेण्ट लिमिटेड लगायतका शेयरधनीहरु रहेका छन्।

यस कम्पनीले साबिक खारे, चंखु र सुरी गा.वि.स खारे खोलाको पानी उपयोग गरी ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गर्दैछ ।

२०७० असाढ १७ गते बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा ७ वटा बैंकहरुसंग तल्लो खारे खोला आयोजना निर्माण गर्न रु. १३० करोड बैंक ऋण सम्झौता युनिभर्सल पावर कम्पनी लिमिटेडसँग भएको छ । बैंक अफ काठमाडौं लिमिटेडको अगुवाईमा अन्य बैंकहरुमा माछापुच्छे बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, जनता बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, सानीमा बैंक लिमिटेड र कैलाश विकास बैंक लिमिटेड रहेका छन्। 

यो कम्पनीले आगामी साउनबाट विद्युतको व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिएको देखिन्छ । 

कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । १ अर्ब ३० करोड बैंकको ऋण मात्र छ । तल्लो खारे खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ४ करोड बढी लाग्नेछ । 

तल्लो खारे खोला जलविद्युत आयोजनाबाट वार्षिक ६२,७३१,७५१ किलोवाट घण्टा विद्युत उत्पादन तथा विक्री गरिने कुरा मासिक उर्जा उत्पादन तालिकामा तोकिएको छ । यसमा वर्षायामका आठ महिनाको लागि ५१,२०४,५५१ किलोवाट घण्टा र सुख्खायामका चार महिनाका लागी ११,५२७,२०० किलोवाट घण्टा निर्धारण गरिएको छ ।

२०६९/१०/२२ र पहिलो संशोधन मिति २००२/१७ मा कम्पनी र नेपाल विद्युत प्राधिकरण वीच सम्पन्न विद्युत खरिद÷बिक्री सम्झौता अनुसार विद्युतको खरिद मुल्य वर्षायामका आठ महिनाको लागि प्रति किलोवाट रु.४.८० (चार रुपैंया असी पैसा मात्र) र सुख्खायाम (पौष, माघ, फाल्गुण र चैत्र) का लागी प्रति किलोवाट रु.८.४० (आठ रुपैंया चालिस पैसा मात्र) तोकिएको छ । यो खरिद दरको लागि व्यापारिक उत्पादन शुरु भएको आर्थिक बर्षलाई आधार मानि खरिद दरमा बार्षिक ३ प्रतिशतका दरले पाँच पटक साधारण मुल्यबृद्धि दिँदा हुन आउने खरिददर दिइने भनिएको छ ।

निर्माणाधिन रहेको तल्लो खारे खोला जलविद्युत आयोजनाको लागि बैंक अफ काठमाडौंको सह वित्तीयकरणमा रु.१ अर्ब ३० करोड ऋण सम्झौता भएकोमा बैंक ब्याजदर बढ्न गई परियोजना लगात वढ्न जाने जोखिम रहेको छ । 

रु. १००/– प्रति शेयरका दरले निष्काशन गरिएको शेयर मूल्यले सूचीकरण पश्चात् नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा हुने कारोवार मूल्य नजनाउने भएकोले शेयर मूल्यमा हुनसक्ने परिवर्तनको जोखिम रहेको छ ।

हाइड्रोका सेयर आइपीओभन्दा कम  मूल्यमा फालाफाल
युनिभर्सल पावर जस्तै झण्डै आठ हाइड्रो
पावर कम्पनीको सेयर दोश्रो बजारमा आइपीओ भन्दा कम मूल्यमा फालाफाल पाइराखिएको राम्रो अवसर हो अहिले । यस्तो बेलामा १०० रुपैयाँ प्रतिकित्ताको दरले त्यस्तै कम्पनीको आइपीओमा मरिहत्ते गरेर लगानी गर्नु उति बुद्धिमानी नहोला । १०० र त्यसको नजिकको मूल्यमा समेत जलविद्युत कम्पनीको सेयर फालाफाल छ । 

अब हेरौं, कुन जलविद्युत कम्पनीको मूल्य आइपीओ मूल्य भन्दा कममा पाइराखिएको छ: