काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफामा सामान्य मात्र प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा ९५ करोड ९४ लाखमा सीमित फ्री प्रफिट ४.०३ प्रतिशतले बढाई ९९ करोड ८१ लाखमा पुर्याएको हो । 

बैंकको खूद नाफा ६.७९ प्रतिशतले बढेर १ अर्ब ७ करोडबाट बढेर १ अर्ब १४ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ५३ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ६३ करोडको उचाईमा पुगेको छ । 

बैंकले व्यवसाय बिस्तारमा खासै ध्यान नदिंदा खूद ब्याज आम्दानी २.३१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ६१ करोडमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ६५ करोड मात्र पुगेको हो । 

अघिल्लो वर्षको अवधिको तुलनामा बैंकको निक्षेप परिचालन भने घटेको छ । अघिल्लो वर्ष ६६ अर्ब ७ करोड रहेको निक्षेप यो वर्ष घटेर ६५ अर्ब ९८ करोडमा सीमित भएको हो । 

कर्जा बिस्तार भने १८.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ४२ अर्ब ९७ करोडमा सीमित कर्जा बढेर यो वर्ष ५० अर्ब ९६ करोड पुगेको हो । 

बैंकको रिजर्बकोषमा ४६ प्रतिशतले वृद्धि भई ७ अर्ब ३ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात(एनपिएल) पनि बढेको छ । अघिल्लो वर्ष ०.१७ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.२ प्रतिशत पुगेको हो । 

वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.७८ रुपैयाँबाट सामान्य बढी २८.५९ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १८७.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.६३ गुणा, बेस रेट ७.५५ प्रतिशत र सीसीडी रेसियो ७५.८१ प्रतिशत कायम भएको छ ।