काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओलाई सर्वसाधारण लगानीकर्ताले समेत पहिलो चरणमा पत्याएनन् । 

कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने भन्दै भ्रम सिर्जना गर्न खोजे पनि लगानीकर्ताहरुले त्यस्ता दाबीलाई पत्याइदिएनन् । जसले गर्दा पहिलो चरणमा समेत यो कम्पनीको आइपीओ सबै कित्ता बिक्री भएन । 

यसले लगानीकर्ताहरु पछिल्लो समय कुनै कम्पनीको आइपीओ भर्नुअघि त्यसको वित्तीय अवस्था र कम्पनीले दिनसक्ने रिटर्नको विषयमा समेत अध्ययन गर्न थालेछन् र खराब अवस्थाका कम्पनीको आइपीओ भर्नुअघि समेत ध्यान पुर्याउन थालेछन् भन्ने देखिन्छ । 

आइपीओ खुलेको चौथो दिन मंगलबार ८६ हजार ३७१ आवेदकले ७७ करोडको हाराहारीमा आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यसको अर्थ १६ लाख २८ हजार कित्ता आइपीओ बिक्री हुन सकेन । 

यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गरेको छ । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता कर्मचारीका लागि, ४ लाख ६६ हजार ३७० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता भने सर्वसाधारणको भागमा परेको छ । 

आइपीओमा पहिलो चरणमा आवेदन दिन मिति बुधबारसम्म लम्ब्याइएको र यो अवधिसम्म पूरै आइपीओ बिक्री नभए फागुन २६ गतेसम्ममा आवेदन दिन सकिने बताइएको छ । 

विज्ञहरुले यस्ता कमजोर कम्पनीको आइपीओमा लगानी गर्नु भन्दा नगर्नु नै उत्तम हुने राय सुरुवातदेखि नै व्यक्त गरिरहेका छन् । तर, लगानीको निर्णय लगानीकर्ता स्वयम्ले बुझेर लिनु चाहि उत्तम विकल्प हुनेछ । 

यो कम्पनीको आइपीओमा छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेभित्र आवेदन दिनुपर्ने भनिएको थियो ।

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यसअघि यो कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म आयोजना प्रभावित दोलखाबासीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर निश्कासन गरेको थियो ।
यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।  

(कम्पनीको आइपीओमा लगानी गर्नुअघि यहाँ क्लिक गरेर विश्लेषणसहितको समाचार पढ्न नछुटाउनुहोला)