-भक्तराज रसाइली 
काठमाण्डौ । बजार विस्तार तथा सुधारका विषयमा माघ पहिलो हप्ता बुझाएको ३२ बुँदे माग र अर्थमन्त्रीबाट गठित कार्यदलको ५८ बुँदे सुझावको कार्यान्वयनको अवस्थाको बिषयमा छलफल गर्न धितोपत्र बोर्डले सेयर लगानीकर्ता दवाब समूहलाई छलफलमा बोलाएको छ । 

आइतबार बोर्डमा पुगेका दवाब समूहका अध्यक्ष हरि ढकालसहितको समूहलाई बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले समय छैन भन्दै फर्काइदिएका थिए । 

बोर्डका अध्यक्षले आफूहरुलाई भेट नदिएपछि आक्रोशित दवाब समूहका प्रतिनिधि प्रधानमन्त्री कार्यालय पुगी गुनासो गरेका थिए । त्यहाँ उनीहरुले प्रधानमन्त्रीका किचन क्याबिनेटका केही सल्लाहकारहरुसँग भेटेर पूँजीबजार र सेयर लगानीकर्ताका समस्या सुनाएका थिए । लगानीकर्ताको समस्या गम्भीर रहेको भन्दै प्रधानमन्त्रीका सल्लाहकारहरुले सहयोग गर्ने वचन दिएका थिए । 

प्रधानमन्त्री कार्यालयमै पुगेर सल्लाहकारहरुलाई बोर्डका अध्यक्ष कार्कीले समय नदिई लगानीकर्ताको समस्यामा उदासीन बनेको दवाब समूहका अधिकारीहरुले गुनासो गरेपछि त्यहाँका अधिकारीहरुले अर्थमन्त्रालयमार्फत डा. कार्कीलाई थर्काएका बुझिएको छ । डा. कार्कीको बेवास्ताका कारण सेयर बजार समस्याग्रस्त भई सरकारकै बदनामी भइरहेको भन्दै अर्थका अधिकारीले थर्काएपछि कार्कीले दवाब समूहका संयोजक ढकाललाई फोन नै गरी छलफलमा डाँकेका हुन् । 

उनले आगामी आइतबार ५ जनाको टोली बनाएर छलफलका लागि आउन निम्ता गरेका दवाब समूहका सचिव गोपाल कट्वालले जानकारी दिए । 

पछिल्लो समय दबाब समूहकै नेतृत्व भएको आमरण अनशनकै दवाबमा पूँजी तथा मुद्रा बजारको समस्या पहिचान गरी त्यसको विकासका लागि आवश्यक सुझाव दिने अधिकारसहित गठन भएको अध्ययन कार्यदलले सुझाएका ५८ बुँदामा समेत केही मात्र कार्यान्वयन भएको र धेरै बुँदा रद्धीको टोकरीमा फालिएको लगानीकर्ताहरुको दाबी छ । 

पुराना र नयाँ मागको बिषयमा छलफल गर्न बोर्ड गए पनि अध्यक्षले समय नदिएपछि फर्किएका दवाब समूहका प्रतिनिधिले आइतबार प्रधानमन्त्रीका केही सल्लाहकारहरुसँग भेटेर आफ्ना समस्या राखेका अध्यक्ष ढकालको दाबी छ । ढकाललले भने हामीले ३ जना सल्लाहकारहरुलाई भेटेर पूँजीबजारका समस्याहरु बताईरहँदा इस्यू गम्भीर भइसकेको र यस विषयमा सरकारी पक्ष सकारात्मक बन्नुपर्नेमा उहाँहरु सकारात्मक हुनुभयो । तर, उनले ती ३ सल्लाहकार को को थिए भन्ने कुरा चाहि खुलाएनन् । 

ढकालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँडै भेट्ने आशा आफूमा पलाएको र लगानीकर्ताको समस्या सुनाई पूँजीबजारप्रति सरकारको सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिए ।

पूँजीबजार विकास तथा सुधारका लागि बीचमा केही सेलाएको जस्तै देखिने दबाब समूहले सेयर बजारका गाँठा र जालो तोडिछाड्ने अनि आम लगानीकर्ताहरुको समान पहुँच कायम गर्न अबका दिनमा आफू लड्ने समूहका अध्यक्ष हरि ढकालले प्रतिबद्धता जनाएका छन् ।