काठमाण्डौ । अर्थमन्त्री परिवर्तन गर्ने र डा. युवराज खतिवडालाई नै एक मौका दिने विषयमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीच मतान्तर देखिएको छ । 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तीमा ३ जना मन्त्री परिवर्तन गर्न चाहेका बालुवाटारस्थित उच्च स्रोतले जानकारी दिएको छ । 
यस्तै, केही मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर गर्ने तयारी थालिएको छ । 

नयाँ मन्त्री ल्याउने र मन्त्रीहरुको कार्यक्षेत्र हेरफेरमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग ओलीको सहमत भए पनि अर्थमन्त्रीको विषयमा भने मतान्तर रहेको स्रोतले दाबी गरेको छ । 

स्रोतका अनुसार अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई एक मौका दिने मनशाय प्रम ओलीको देखिएको छ । उनले विज्ञ अर्थमन्त्रीलाई विदा गर्न नहुने भन्दै बाँकी मन्त्रालयको बिषयमा मात्र सोच्न सकिने बताएका प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बिजशालालाई बताए । ‘संभवत अर्थमन्त्री डा. खतिवडा योपटक बाहिरिनुहुन्न होला ।’ स्रोतले भन्यो–‘पर्यटनमन्त्री रविन्द्र अधिकारी, भौतिक योजनामन्त्री रघुवीर महासेठ र कृषिमन्त्री चक्रपाणि खनाल बाहिरिने मन्त्रीको सूचिमा हुनुहुन्छ ।’ 

ओलीले अर्थमन्त्री डा. खतिवडालाई अन्तिम मौका दिन चाहे पनि नेकपाका अर्का अध्यक्ष प्रचण्डले भने उनलाई समेत विदा गर्नुपर्ने अडान लिइरहेका छन् । प्रचण्डले डा. खतिवडाको ठाउँमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ल्याउनुपर्ने जिकिर गरेका उच्च स्रोतले जनाएको छ । 

पाण्डेले चुनावमा प्रचण्ड र उनकी पुत्रीलाई निकै राम्रो सहयोग गरेका थिए । पाण्डे स्वयम् पनि तत्कालीन एमालेतर्फको च्यानलबाट दवाब सिर्जना गरी अर्थमन्त्रीमा जान चाहेका छन् । तर, ओलीको सहमतिबिना उनी सहजै अर्थमन्त्री बन्ने संभावना भने कम देखिन्छ । 

अन्तिम अवस्थामा अर्थमन्त्री डा. खतिवडाले समेत परिणाम निस्किन केही समय लाग्ने र त्यसको आधार तयार भइसकेकोले केही समय मागेपछि ओली उनलाई अन्तिम मौका दिने निश्कर्षमा पुगेका हुन् ।

को–को आउँदैछन् नयाँ मन्त्री ?
बालुवाटारस्थित उच्च स्रोतका अनुसार ओली नेतृत्वको क्याबिनेटमा नयाँ मन्त्रीको रुपमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाममा सबैको सहमति देखिएको छ । जनार्दन शर्माले गृहमन्त्रालयको कमान सम्हाल्ने संभावना छ भने अर्थमन्त्री बन्न नसके सुरेन्द्र पाण्डेलाई कुन मन्त्रालय दिने भन्ने विषय टुंगिसकेको छैन ।

मन्त्रालय हेरफेर
यस्तै, मन्त्रालय हेरफेरको समेत तयारी भइरहेको छ । जसमा संचारमन्त्री गोकुल बाँस्कोटालाई पर्यटन मन्त्रालय दिने तयारी गरिएको छ भने गृहमन्त्री रामबहादुर थापा(बादल)लाई भौतिक पूर्वाधार मन्त्रालय दिने लगभग सहमति भइसकेको छ । तर, मन्त्रालय हेरफेर हुँदा भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले समेत दाबी गरेका छन् । 

सरकारमा प्रवेश गर्ने तीन मन्त्रीमा पाण्डे र शर्माको नाम निश्चित भए पनि तेश्रो नाम टुंगिसकेको छैन । 

स्रोतका अनुसार अब बस्ने क्याबिनेटले नयाँ मन्त्रीलाई प्रवेश गराउने र मन्त्रालय हेरफेर तथा केही पुरानालाई विदा गर्ने विषयमा महत्वपूर्ण निर्णय गर्नसक्ने संभावना छ ।