शेनजेन (रासस/एएफपी) । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । 

हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिका सहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ । 

हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ । 

उक्त मुद्दा दर्तासँगै चिनीया कम्पनी हुवावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ । उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको सङ्केत पनि दिएको छ । 

“हुवावेका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने ठोस कारण र प्रमाण जुटाउन अमेरिकी कङ्ग्रेस पनि पटकपटक असफल भइसकेको छ । हामी कानुनी उपचार नै उपयुक्त र अन्तिम प्रयत्न हो भन्नेमा सोच्न बाध्य भएका छौं,” हुवावेका अध्यक्ष गुओ पिङले बताउनुभयो । 

“कानुनी झन्झट समाप्त गर्ने हो भने हुवावेले अमेरिकामा अझ समुन्नत प्रविधि भित्र्याउने छ र उत्कृष्ट फाइभ–जी सञ्जाल निर्माणमा मद्दत गर्नेछ ।” 

गुओले प्रतिबन्धका कारण भएको हानिनोक्सानीको यकिन विवरण नखुलाइएको बताउनुभयो । 

“अमेरिकी सरकारले हुवावेलाई बदनाम गराउन कुनै कसर बाँकी राखेको छैन,” शेनजेनस्थित कम्पनीको मुख्यालयमा आयोजित गुओले पत्रकार सम्मेलनमा भन्नुभयो । 

गुओले अमेरिकी सरकारले हुवावेको सर्भर ह्याक गरेको तथा इमेलहरु र “सोर्स कोड” चोरी गरेको पनि दाबी गर्नुभयो । तर उहाँले यस बारेमा विस्तृत विवरण दिन चाहनु भएन । 

अमेरिकी सरकारले हुवावेबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाउँदै आएको छ । खासगरी हुवावेका संस्थापक रेन झेङफाई चिनीया सेनाका इन्जिनियर भएका कारण अमेरिकाले शङ्का जनाइआएको छ । 

हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामसुङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ । 

चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनीया कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो । 

संयुक्तराज्य अमेरिकाले हुवावेका उपकरणहरु अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिष्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ । अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अरु देशलाई पनि आह्वान गरेको छ ।