काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १०० दरका ४० करोड थान नयाँ नोट छाप्न र आपूर्ति गर्ने जिम्मा एक बेलायती कम्पनीलाई दिएको छ । 

आइतबार बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीसँग १००  दरका नयाँ नोट छाप्ने र आपूर्ति गर्ने सम्झौता भएको हो ।

बेलायती कम्पनीले ८० लाख ७२ हजार पाउण्डमा नोट छपाई र आपूर्तिको जिम्मा पाएको हो ।

अघिल्लो साता ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई दिइएको थियो ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार अहिले छाप्ने जिम्मा दिइएका नोटहरु ८ महिनाभित्रमा नेपाल आइपुग्नेछन् । पुरानै डिजाइनका नोट छाप्न दिइएको र तीमध्ये केही थान नोट आगामी दशैंसम्म आइपुग्ने बताइएको छ ।