काठमाण्डौ । अनलाइन सेयर कारोबार प्रणालीको भेण्डर कम्पनी वाइको प्रालिलाई नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबार स्पष्टीकरण सोधेको छ।

अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आई कारोबार नै अवरुद्ध हुन थालेपछि क्रूद्ध बनेको नेप्सेले वाइकोलाई सोमबार लिखित स्पष्टीकरण सोधेको हो । 

दुई दिनभित्र जवाफ दिन भनी सोधिएको स्पष्टीकरणमा के कारणले अनलाइनमा पटक पटक समस्या आइरहेको हो भन्ने विषयमा प्रष्ट पार्न भनिएको छ । कारण र कमजोरीको विषयमा समेत जवाफ मागिएको पत्रमा आगामी दिनमा अनलाइन कारोबार प्रणालीमा कुनै समस्या हुन नदिनका लागि वाइकोबाट प्रतिबद्धता समेत मागिएको छ । 

वाइकोले बनाएर नेप्सेलाई हस्तान्तरण गरेको अनलाइन सेयर कारोबार प्रणाली सुरु भएदेखि नै समस्याग्रस्त बन्दै आएको छ । समस्या समाधान हुनुको साटो नयाँ नयाँ समस्या आई सिस्टम नै क्र्यास हुने अवस्था भएपछि आइतबार दिउँसो १२ः४१ बजेदेखि लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन् । 

नेप्सेको आइटी समूह र भेण्डर कम्पनी वाइकोका प्राविधिकहरुले आइतबारको समस्या समाधान गरेका थिए । सोमबार समेत कारोबारको सुरुवातमा सिस्टममा सामान्य गडबडी देखिएको थियो । 

सिस्टमले काम नगरी लगानीकर्ता कारोबारबाट बञ्चित भएसँगै नेप्सेको आइतबार साँझ बसेको उच्च व्यवस्थापनको बैठकले वाइकोलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

यता, नेप्सेले वाइकोलाई स्पष्टीकरण सोधिरहेकै बेला अर्थ मन्त्रालयले अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाप्रति पहिलोपटक औपचारिक चासो दिंदै धितोपत्र बोर्डलाई पत्र लेखेको छ । अर्थले बोर्डलाई अनलाइन कारोबार प्रणालीको नियमित अनुगमन गर्न र प्रभावकारी बनाउने काममा लाग्न निर्देशन दिएको हो । 

यही बेला केही लगानीकर्ताले अनलाइन कारोबार प्रणालीको विश्वसनीयता, त्यसमा गरिएको खर्च र भेण्डर कम्पनीको नियतमा समेत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन् ।