काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुवात(साउन)देखि माघ महिनासम्मको कार्य प्रगति विवरणमा अर्थमन्त्री डा. युवराज खतिवडा अन्य तीन मन्त्रीसँगै अब्बल देखिएका छन् । 

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनको क्रममा अर्थमन्त्री डा. खतिवडासहित ४ मन्त्री कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा अब्बल देखिएका हुन् । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अनलाइनबाट गरिएको कार्यसम्पादनको अनुगमनमा अर्थमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण बिष्ट र कानूनमन्त्री भानुभक्त ढकाल अरु मन्त्रीभन्दा अब्बल देखिएका छन् । तर, समग्रमा उनीहरुको प्रगति पनि सर्वोत्कृष्ट खालको भने छैन ।

उनीहरुको कार्यप्रगतिलाई प्रधानमन्त्री कार्यालयले औसत समूहमा राखेको छ । यसको अर्थ उनीहरुबाहेक कुनै पनि मन्त्रीले औसत वा सोभन्दा माथिको प्रगति गर्न सकेनन् भन्ने हो ।

तुलनात्मक रुपमा राम्रो प्रगति गरेका भनिएका अर्थमन्त्रीसहितका चार मन्त्रीलाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुनले पछ्याएका देखिएको छ । 

प्रधानमन्त्री कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर पूर्वाधार मन्त्री रघुवीर महासेठ देखिएका छन् । त्यस्तै, उपप्रधान तथा परराष्ट्रमन्त्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति पनि सन्तोषजनक छैन । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री बिना मगर, उद्योगमन्त्री मातृका यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजना अनुसार काम गर्न नसकेको देखिएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयको सम्पादन गर्नुपर्ने काममा ९ प्रतिशत मात्र प्रगति गरेको देखिएको छ । खानेपानी मन्त्रालयको पनि १० प्रतिशत माथि प्रगति हुन सकेको छैन । उद्योग मन्त्रालयको कार्य प्रगति १३ प्रतिशत मात्र छ । उर्जाको प्रगति विवरण २७ प्रतिशत, शिक्षाको २१, स्वास्थ्यको २२ प्रतिशत छ । 
पद्मा अर्याल र चक्रपाणि खनाल काम नगर्ने खराब मन्त्रीको सूचिमा परेका छन् ।

संचारमन्त्री गोकुल बास्कोटा र खेलकूद मन्त्री जगत विश्वकर्माले धेरै योजना सुरु गरे पनि पूरा नभएको प्रम कार्यालयले तयार गरेको रिपोर्टमा उल्लेख छ।

मन्त्रीमण्डल पुनर्गठनको तयारी
यसैबीच, कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ लिएर मन्त्रीपरिषद पुनर्गठनको गृहकार्य थालेका छन् । 

यो क्रममा कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएका मन्त्रीहरुलाई विदा दिइने उच्च स्रोतले जनाएको छ । यसको अर्थ रघुवीर महासेठ, पद्मा अर्याल, चक्रपाणि खनाल, विना मगर, ईश्वर पोखरेल, उपेन्द्र यादव लगायतका मन्त्रीहरु डेञ्जर जोनमा छन् । यीमध्ये सरकारसँगको समीकरण र पार्टीभित्रको समीकरण मिलाउन पोखरेल र यादवलाई विदा नगर्नुपर्ने हुनसक्छ भने बाँकी मन्त्री घर जान सक्छन् । 

यसअघि घर जाने चर्चामा रहेका अर्थमन्त्री डा. युवराज खतिवडालाई भने योपटक विदा नगर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् । अर्थमन्त्रीलाई अन्तिम मौका दिने उनको तयारी छ । 

तर, प्रचण्डले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत विदा गर्नुपर्ने अडान लिइरहेका उच्च स्रोतको दाबी छ । विज्ञ अर्थमन्त्रीले सम्हालेको अर्थतन्त्रले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब प्रदर्शन गरेको र अस्थिर सरकारको जस्तै ताल देखिएकोले खतिवडालाई अब लम्ब्याउन नहुने पक्षमा प्रचण्ड रहेका छन् । खतिवडालाई घर पठाएर अर्थमन्त्रीको रुपमा एमालेका नेता सुरेन्द्र पाण्डेलाई ल्याउने प्रचण्ड चाहना यो पटक पूरा हुने संभावना कम छ । 

मन्त्रीपरिषद पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने हुँदा उनको रोजाईमा परेका डा. खतिवडा यसैपटक घर जाने संभावना न्यून रहेको छ । 

केही मन्त्रीको हेरफेर गर्ने र पर्यटन मन्त्रीमा नयाँ अनुहारलाई नियुक्ति दिने तयारी समेत भइरहेको बताइएको छ । रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय पनि नेतृत्वविहीन अवस्थामा  छ।

ओलीले राजधानीमा चैत दोश्रो साता हुने लगानी सम्मेलनपछि मन्त्रीपरिषद पुनर्गठन गर्न सक्नेछन् । 

प्रचण्डले मंगलबार विराटनगर पुगेर मन्त्रालय पुनर्गठनको तयारी भइरहेको खुलासा गरेका थिए ।