काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले रु. १००० दरका कुल ३० लाख कित्ता ऋणपत्र निश्कासनको माग गर्दै नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ । 

माछापुच्छ्रे बैंकले निश्कासन गर्ने ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ । 

केन्द्रीय बैंकबाट स्वीकृत भएपछि बैंकले ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले आवेदन र अन्य कागजातहरुको अध्ययन गरी केही समयपछि निश्कासनको अनुमति दिनेछ । 

बोर्डबाट अनुमति पाएपछि मात्र बैंकले ऋणपत्रको सार्वजनिक निश्कासन गर्नेछ । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रको निश्कासनमा जोड दिइरहेका छन् । 

तर, अस्थिर बजारमा मुद्धती निक्षेपकै हाराहारीमा मात्र ब्याज पाइने भएपछि पछिल्लो समय सर्वसाधारणले ऋणपत्रको खरीदमा खासै ध्यान नदिएको पाइन्छ ।