-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफ्नो कार्यालयमा रहेका ५ वटा महाशाखाका प्रमुखहरुलाई योजनासहित कार्यविवरण र प्रगतिविवरणका प्रतिवेदन त्रैमासिक रुपमा बुझाउन निर्देशन दिएका छन् ।

नेप्सेअन्तर्गत रहने प्रत्येक महाशाखाका प्रमुखले अब गर्नुपर्ने काम र गरिसकेका कामको पूर्ण विवरण आफूलाई बुझाउनुपर्ने र सो कुरा नेप्सेद्वारा त्रैमासिक रुपमा प्रकाशित हुने न्यूजलेटरमा समेत समावेश गरिन लागेको प्रमुख साउदले जानकारी दिए ।

नेप्सेमा गर्नुपर्ने सुधार धेरै रहेको आफूले महसुस गरेको उल्लेख गर्दै साउदले अब महाशाखा र शाखाबाट पूर्ण क्षमता अनि उच्च कार्यसम्पादनमार्फत समग्र संस्थाको गरिमा र साख बढाउन यो निर्णय गरिएको दाबी समेत गरेका छन् । उनले थपे–‘हामी सबै विषयमा दख्खल नराख्ने भएकाले अमेरिकाबाट अध्ययन गरी आएका एक विज्ञलाई नेपालको पूँजी बजारको विकासका लागि राय समेत माग गरिएको छ । सो राय मेरो हातमा परिसकेको छ । अब नेप्सेमा व्यापक सुधार हुन्छ ।’

प्राप्त राय अनुसार सुधारको काममध्ये अधिकांश धितोपत्र बोर्डले गर्नुपर्ने खालको रहेको र केही कार्य नेप्सेले समेत गर्नुपर्ने रहेको र त्यसलाई ढिला नगरी अगाडि बढाइएको उनले प्रष्ट्याए ।

नेप्से प्रमुख साउदका यस्ता कदम बजारको  फ्रन्टलाइन रेगुलेटरको संस्थागत सुशासनका अभ्यासहरु र नैतिक व्यवसायिक आचरणको श्रीवृद्धिका लागि सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ । 

नेप्सेमा कार्यरत कर्मचारीहरु संस्थाको मूलयमान्यताको केन्द्रबिन्दूमा रहेका हुन्छन् । जवाफदेहिता, सरोकारावालाको सन्तुष्टिको सुनिश्चितताका लागि,  लगानीकर्ताहरुको आकाँक्षा संरक्षणलाई मध्यनजर गरी आफ्नो कार्यसम्पादनमा पारदर्शिता कायम गर्दै संस्थागत सुशासनका उच्चतम अभ्यासहरुको पूर्ण रुपमा अवलम्बन  तथा अनुपालना  गराउन नेप्सेमा कार्यरत अधिकारीहरुलाई कटिबद्ध बनाउने हेतूले यो कार्ययोजना बनाएको र महाशाखा प्रमुखहरुलाई स्पष्ट दिशानिर्देश दिइएको साउदको भनाई छ ।