काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत छनौट भएका १९ आयोजनामध्ये सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने पहिलो कम्पनीको सेयर आफूले किन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका थिए ।

चैत ७ गतेदेखि ती १९ आयोजनामध्येको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्दैछ । 

प्रधानमन्त्री ओलीको घोषणा अनुसार यो कम्पनीको पहिलो सेयर खरीदका लागि उनले आवेदन दिनुपर्छ । तर, सेयरमा आवेदन दिनका लागि डिम्याट खाता चाहिन्छ । प्रधानमन्त्रीले हालसम्म कुनै पनि बैंक तथा बित्तीय संस्थामा डिम्याट खाता खोलेका छैनन् । 

यही कुरा बुझेका मर्चेन्ट बैंकर तथा उनीहरुको माउ संस्था बैंकहरुबीच प्रधानमन्त्रीको डिम्याट खाता(सेयर जम्मा हुने खाता) खुलाउने दौड सुरु भएको छ । यो दौडमा केही ब्रोकर समेत सामेल छन् । 

प्रधानमन्त्रीको डिम्याट खाता खोल्ने कुरालाई कतिपय बैंकहरुले प्रतिष्ठाको विषय समेत बनाएका छन् । 

प्रधानमन्त्रीले डिम्याट खाता खोल्ने कम्पनीको राम्रो ब्राण्डिङ हुने ठानेर बैंकका संचालकहरुले प्रधानमन्त्रीसम्म पुग्ने च्यानलमार्फत आफ्नो कम्पनीमा डिम्याट खाता खोलिदिन आग्रह गरिरहेका स्रोतहरुले जनाएका छन् ।

त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको साधारण सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ । यो संस्था पनि प्रधानमन्त्रीको डिम्याट अकाउण्ट खोल्ने दौडमा लागिसकेको छ। 

ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमनि ढकालले आफूहरुको तर्फबाट पनि प्रम ओलीको डिम्याट खाता खोल्नका लागि सक्दो प्रयास भइरहेको खुलाए । ‘हामीले पनि प्रयास गरिरहेका छौ ।’ उनले भने–‘हामीले सो जलविद्युत कम्पनीको सेयरको निश्कासनकर्ताको काम गरिरहेकोले हाम्रोमा डिम्याट खाता खोल्नु सान्दर्भिक हुन्छ भन्ने ठानेका छौ ।’ 

उनीजस्तै अन्य केही मर्चेन्ट बैंकरहरु समेत प्रधानमन्त्रीका सल्लाहकारमार्फत आफ्नो कम्पनीमा डिम्याट खाता खोलिदिन अनुरोध लिई प्रधानमन्त्री कार्यालयसम्मै पुग्न थालेका स्रोतले दाबी गरेको छ । 

यो दौडमा सहभागी एक ब्रोकरले समेत आफ्नो ब्रोकरबाट सेयर कारोबार गर्ने गरी आफूले च्यानल मिलाउन खोजेको दाबी समेत गरे । ‘भरसक हामीले संचालन गरिरहेको डिपी सेवामार्फत डिम्याट खाता खोलाउने वातावरणका लागि म प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग सल्लाहमा छु ।’ ती ब्रोकरले नाम उल्लेख नगर्ने शर्तमा भने–‘सकारात्मक प्रतिक्रिया आएको छ ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले बिजशालासँग कुरा गर्दै जनताको लगानी रहने जलविद्युत कम्पनीको पहिलो सेयर किन्ने घोषणा कार्यान्वयन हुने र यसका लागि उर्जामन्त्री र एचआइडिसिएलले समन्वय गरिरहेका जानकारी दिए । ‘उहाँहरुले कहाँ डिम्याट खाता खोलाउने व्यवस्था गर्नुभएको छ त्यो चाहि मलाई थाहा छैन ।’ रिमालले भने–‘तर, प्रधानमन्त्रीले पहिलो आवेदकको रुपमा सेयर किन्नुहुन्छ ।’ 

उर्जामन्त्रालय र एचआइडिसिएलस्थित अधिकारीहरुले प्रधानमन्त्रीले डिम्याट खाता खोल्ने विषयमा अहिल्यै नै सबै कुरा भन्न नमिल्ने बताए । 

स्मरणरहोस्, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तलबभत्ता भने एभरेष्ट बैंकमा खोलेको खाताबाट बुझ्ने गर्छन ।