काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आज(चैत ५ गते)देखि संस्थापक सेयरको लिलामी खुलाएको छ । 

यो कम्पनीलाई आठ दिनअघि मात्र नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्तिको सम्झौता गरेको थियो । यसको अर्थ फाइनान्सको संस्थापक सेयर खरीद गर्नेहरु भविष्यमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी कायम हुनेछन् ।

जेविल्स फाइनान्सले ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

कम्पनील हकप्रदको क्रममा निश्कासन गरेका निकै ठूलो परिमाणको सेयर बिक्री भएको थिएन । यसअघि समेत लिलामी खुलाएको कम्पनीले साधारण सेयर बिक्री गरे पनि संस्थापक भने बिक्री गर्न सकेन । बिक्री नभएको तिनै संस्थापक सेयर पुनः एकपटक अक्सनमा आएको हो । 

जेविल्सको सेयर लिलामीमा सनराइज क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गरिरहेको छ । 

इच्छुकले न्यूनतम १ हजार कित्ताका लागि प्रतिकित्ता न्यूनतत १०० रुपैयाँको बोल लगाई शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सनराइज क्यापिटलको मुख्य कार्यालय र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तोकिएका शाखामा गएर इच्छुकले लिलामीका लागि बोलपत्र फारम भर्न सक्नेछन् ।

जेविल्स फाइनान्सको हालको चुक्तापूँजी ५७.७९ करोड रहेको छ । नबिकेको सेयर समेत बिक्री भई ४० प्रतिशत हकप्रदको पूर्ण पूँजीकरणपछि चुक्तापूँजी बढेर ८० करोड ९१ लाखको उचाईमा पुग्नेछ ।