काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत छनौट भएका १९ आयोजनामध्ये सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने पहिलो कम्पनीको सेयर किन्ने तयारी स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार २ वटा डिम्याट खाता खोलेका छन् । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिमार्फत ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमीटेडमा छुट्टा छुट्टै डिम्याट खाता खोलेका हुन् । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेड प्रधानमन्त्रीले सेयर किन्ने भनिएको त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले चैत ७ गतेदेखि निश्कासन गर्न लागेको आइपीओको सेयर निश्कासन तथा बिक्री प्रबन्धक समेत हो । 

ग्लोबल आईएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमीटेडले अन्य मर्चेन्ट बैंकरलाई पछार्दै प्रधानमन्त्रीको डिम्याट खाता खोलेको हो । 

क्यापिटलका सीइओ पारसमनि ढकालले प्रम ओलीले डिम्याट खाता खोलेको पुष्टि गरे । 

नेपालमा सेयरमा आवेदन दिनका लागि समेत डिम्याट खाता चाहिन्छ । एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाइन्छ । 

यही प्रावधानका कारण १० वटा ब्रोकरहरुको सहकार्यमा संचालित नेपाल डिपी लिमीटेडमा समेत प्रधानमन्त्री ओलीको अर्को डिम्याट खाता खोलिएको सो कम्पनीका प्रल्हाद ओलीले जानकारी दिएका छन् । 

यसअघि प्रधानमन्त्री ओलीले डिम्याट खाता खोलेका थिएनन् । यसअघिको रेकर्डमा प्रम ओलीको कहीँ पनि डिम्याट खाता रहेको नदेखिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार मंगलबार खोलिएका दुई डिम्याट खाता सिडिएससीले भेरिफाइड गरिसकेको छ । 

प्रधानमन्त्री ओलीको घोषणा अनुसार त्रिशुली जलविद्युत कम्पनीको पहिलो सेयर खरीदका लागि उनले आवेदन दिनेछन् । उनले सेयर खरीदका लागि आवेदन दिएपछि उर्जामन्त्रीले समेत सेयर खरीद गर्ने कार्यक्रम रहेको छ । त्यसपछि केही हाइप्रोफाइलहरुले सोही दिन क्रमैसँग सेयर किन्नेछन् । 

प्रधानमन्त्रीले यो कम्पनीको कति कित्ता सेयर किन्छन् भन्ने विषय भने अझै खुलिसकेको छैन ।