काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको १० हजार कित्ता सेयर खरीदका लागि अनलाइन आवेदन दिएका छन् ।

उनीसँगै उर्जामन्त्री वर्षमान पुनले १००० कित्ता सेयरका लागि आवेदन दिएका छन् । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एक समारोहका बीच ओलीलाई साक्षी राखेर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमनि ढकालले माथिल्लो त्रिशुली थ्री बीको सेयर खरीदका लागि मेरो सेयरमार्फत आवेदन भरिदिएका हुन् ।

प्रम ओलीले आफ्नो पूर्व घोषणा अनुसार जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको पहिलो आयोजनाको पहिलो सेयर किन्नका लागि दरखास्त दिएका हुन् ।

नेपालमा सेयर भर्दा डिम्याट खाता अनिवार्य भएकोले ओलीले सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा डिम्याट खाता खोलेका थिए ।  उनले नेपाल डिपी लिमीटेडमा समेत अर्को डिम्याट खाता खोलेका थिए ।

यो आयोजनाको आइपीओमा न्यूनतम १०० कित्तादेखि अधिकतम १०००० दश हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । प्रम ओलीले अधिकतम कित्ताका लागि आवेदन दिएका जनताको जलविद्युत कार्यक्रमका सदस्य सचिव छवि पोखरेलले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफ्नो नाममा कहिल्यै पनि कुनै पनि कम्पनीको सेयर किनेका थिएनन् । अनलाइनबाट सेयरको आवेदन दिन मिल्ने गरी सर्वसाधारणमा लोकप्रिय बनेको मेरो सेयरमार्फत आइपीओका लागि आवेदन दिने आधुनिक प्रविधिको उनले पहिलोपटक नै प्रयोग गरेका छन् । 

प्रधानमन्त्री ओलीले सेयर खरीदका लागि चाहिने डिम्याट खाता समेत पहिलोपटक खोलेका हुन् । 

प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले १० हजार र उर्जामन्त्रीकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए ।

‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।