हामीले नयाँ अभ्यासलाई अगाडि बढाइरहेका छौ । जनताको जलविद्युत कार्यक्रमार्फत अब हरेक नेपाली जलविद्युत र उर्जा क्षेत्रका राम्रा आयोजनाहरुको सेयरधनी हुनेछन् । 

हामीले हाम्रा लक्ष्यहरुलाई नारामा मात्र सीमित गरेनौ, त्यसलाई यसैगरी व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानेछौ, लगिरहेका छौ । 

हामीसँग भएको आफ्नै सानो सानो पूँजीलाई संकलित गरी ठूलो काम गर्नसक्छौ भन्ने कुरा हामी प्रमाणित गर्न चाहन्छौ । मौरीले सानो सानो चुच्चोमा थोरै थोरै फूलको रस ल्याएर थुप्रै मह तयार गर्छ । हामी पनि त्यसै गर्नसक्छौ । त्यसकारण हामी अब लगानी जुटाउन मौरी बन्नुपर्छ । 

नेपाल उर्जाको विश्व प्रसिद्ध रुपमै धनी देश हो । तर, जलविद्युतको सदुपयोग हुन नसकिरहेको अवस्था छ । यिनकै जलस्रोतको उपयोगका लागि यस्ता आयोजनालाई प्रारम्भिक प्रयोगात्मक रुपमा अगाडि बढाइएको छ । यसलाई सफल बनाइछाड्नेछौ । 

म सबै दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, अब अरुसँग धेरै हात नथापौं, आफ्नो देश आफैं बनाउनुपर्छ । देशभित्र रहेका र बाहिर रहेका सबैलाई आग्रह गर्छु । गैरआवासीय नेपाली, श्रमका लागि बाहिर बसेका, वा अरु प्रयोजनका लागि बाहिर रहेका नेपालीहरु सबैलाई म आग्रह गर्न चाहन्छु, यसमा लगानी गरौं । यसलाई यथाशीघ्र नमूना आयोजनाको रुपमा सफल पारौं । 

त्रिशुली थ्रीबी जनताको लगानीमा बन्ने आयोजना हो । पूर्व शिक्षक, पूर्व कर्मचारीले समेत भोलिका दिनमा आफ्नो छुट्टै जलविद्युत आयोजना बनाउन सक्नुहुन्छ । बहालवाला शिक्षकहरुले पनि आफ्नो आयोजना बनाउनसक्छौ । अरु क्षेत्रमा पनि यस्ता आयोजना हामी निर्माण गर्नसक्छौ । उर्जामा मात्र होइन, कृषि तथा पर्यटनमा पनि साना पुँजी जोडेर ठूला काम गर्नसक्छौ । 

जुन देशका जनताले आफ्नो देश आफैं बनाउने ठान्छन्, त्यो देश मात्र अगाडि बढ्छ । जुन देशका जनतामा आत्मविश्वास र स्वाभिमान हुन्छ, त्यसले मात्र राष्ट्र निर्माण गर्न सक्छ । परम्परादेखि नै स्वभिमान र स्वाधीन रहेको नेपाललाई नयाँ ढंगले अगाडि बढाउने संकल्प सुरु भएको छ । यो अभियानको थालनी यस भावनाका साथ गरिएको छ । यो अभियानलाई सबै मिलेर सफल बनाऔं ।  

(जनताको जलविद्युत कार्यक्रम अन्तरगत त्रिशुली थ्री बीमा पहिलो आवेदकको रुपमा सेयर खरीदका लागि आवेदन दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको सम्बोधनको सम्पादित अंश)