काठमाण्डौ । हकप्रद निश्कासनको क्रममा नबिकेको सेयर अक्सन मार्केटमार्फत खरीद गर्ने अवसर अब काठमाण्डौ(उपत्यका) बाहिरका लगानीकर्ताले पनि पाउने भएका छन् । 

बजारको नियामक नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय क्षेत्रबाट समेत बोलपत्र पेश गर्नसक्ने व्यवस्थाका लागि परिपत्र गरेको छ । 

धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा काठमाण्डौ उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोवारको अवस्था समेतका आधारमा आवेदन दिनसक्ने व्यवस्था गरिएको बोर्डको प्रष्टोक्ति छ । 

बोर्डले प्रदेश १ का लागि विराटनगर र विर्तामोड, २ का लागि वीरगञ्ज र जनकपुर, ३ का लागि हेटौडा र नारायणगढ, प्रदेश ४ का लागि पोखरा र बाग्लुंग, ५ का लागि बुटवल, घोराही र नेपालगञ्ज, ६ का लागि सुर्खेत र ७ का लागि धनगढी र महेन्द्रनगरबाट समेत लिलामीको आवेदन लिने व्यवस्था गर्न मर्चेन्ट बैंकरलाई परिपत्र गरेको हो । 

यो व्यवस्थाबाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिनसक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ बिस्तार हुने बोर्डको दाबी छ । 

काठमाण्डौ उपत्यकाबाहिरका लगानीकर्ताले विगत लामो समयदेखि लिलामीका प्रक्रियामा आफूहरुले समेत मोफसलबाटै आवेदन दिन पाउने व्यवस्था हुनुपर्ने माग गर्दै आएका थिए । यो व्यवस्थाले लिलामीको सेयर भर्न काठमाण्डौ नै आउनुपर्ने जिल्लाका लगानीकर्ताको बाध्यताको अन्त भएको छ ।