-भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको शीघ्र सुरुवातका लागि लगानीकर्ताले कैयन आन्दोलन गरे । 

अनलाइन कारोबार शीघ्र कार्यान्वयनको माग गर्दै नेप्से घेराउ भयो, नारा घन्कियो, लगानीकर्ताका जोशिला मुठ्ठीहरु उठे । नेप्सेका जिम्मेवारी पदाधिकारीलाई घेरेर अनलाइन कारोबार प्रणाली सुरुवातको मिति तोक्ने तागेता जारी राखी । अनलाइन कारोबार प्रणालीको सुरुवातकै लागि दवाब दिने उद्देश्यले कारोबार बहिस्कारसम्मका कदम चालिए । यो आन्दोलनकै क्रममा लगानीकर्ताको नयाँ संगठन समेत जन्मियो । 

चौतर्फी दवाबपछि नेप्सेले पनि अनलाइन कारोबार प्रणाली हतारोमा उद्घाटन गरिदियो । तामझामका साथ उद्टघान भएको अनलाइन कारोबार प्रणालीपछि सेयर बजारमा बहार आउने धेरैले सोचेका थिए, तर भइदियो उल्टो । अनलाइन कारोबार प्रणालीमा दैनिकजसो आइरहने अनेकन समस्याले लगानीकर्ता हच्किए । समस्या समाधानका लागि पहल भइरह्यो, भइरहेकै छ । तर, अनलाइनको कारोबार प्रणालीमा हरेक दिनजसो कुनै न कुनै समस्या आइरहेकै छ । 

दैनिकजसोको समस्याबाट लगानीकर्ता आजित भइसकेका छन् । अनलाइनको भद्रगोलका कारण बजारमा लगानीको विश्वसनीयता नभएको निश्कर्षसहित कतिपय त बजारबाटै पलायन हुने अवस्था बन्यो । 

अनलाइनको भद्रगोल अवस्थाकै कारण लगानीकर्ताको मनोबल कमजोर भइरहँदा समेत यसको कमजोरी खुट्याएर समाधान गर्नेतर्फ न नेप्से न त भेण्डर कम्पनी वाइकोकै गम्भीर ध्यान गएको छ । बरु, प्राविधिक विषयमा ज्ञान नभएका नेप्सेका सीइओलाई अलमल्याएर कसैले खेल खेलिरहेको छ कि भन्ने आभास हुन थालेको छ । 

यसरी अनलाइनको नाममा लगानीकर्तालाई बजारप्रति निरुत्साहित बनाउने काम हाकाहाकी भइरहेको छ । यसप्रति लगानीकर्ताका नेताको धारणा के होला ? हामीले बुझ्ने प्रयास गरेका छौ । 

यो क्रममा कतिपय नेताले त अनलाइन कारोबार प्रणाली स्थगन गरी पहिलाकै सिस्टममा जानुपर्ने मत समेत जाहेर गरेका छन् । उनीहरुको यो अभिव्यक्ति अनलाइनको भद्रगोलले हद नाघिसकेपछिको निराशाको प्रतिनिधि संकेत समेत हो । 

हेरौं अनलाइन कारोबार प्रणालीको भद्रगोल र दिनहुँ आइरहने समस्याको बिषयमा कसले के भने ?

उत्तम अर्याल(अध्यक्ष)सेयर लगानीकर्ता संघ 
ठूलो दौडधुप गरेर ल्याएको अनलाइन आज कोमामा पुगेको स्थिति छ ।  यो पूरै अपाङ्ग हुनु हामी लगानीकर्ताका लागि दुर्भाग्यपूर्ण र आशामाथिको तुषारापात पनि भयो । अनलाइनमा भइरहेको गडबडीको छानबिन गर्न जोडदार माग गर्दछु । सरकारले समेत लगानी गरेर फसिसकेका हुनाले यसलाई निरन्तरता दिइनुपर्छ र छिटोभन्दा छिटो सुधार गरेर अनलाइनको अन्तर्राष्ट्रिय कारोबार सुविधा पाउनुपर्छ । 

छोटेलाल रौनियार(अध्यक्ष)नेपाल इन्भेष्टर्स  फोरम
नेप्सेको अनलाइनमा हामी धेरै आशावादी थियौं । महिनौं बितिसक्दा समेत सम्स्या बाँकी नै छ । यथाशीघ्र समाधान गर्न सम्बद्ध निकाय र सरोकारवालालाई स्मरण गराउन चाहन्छु । हामी यस विषयमा ध्यानाकर्षण गर्न केही दिनमा नेप्से जान लागेका पनि छौं । यथाशीघ्र अनलाइनका कमीकमजोरी त्रुटि हटाएर प्रयोगमैत्री बनाइनुपर्छ ।

हरि ढकाल(अध्यक्ष)सेयर लगानीकर्ता दबाब समूह 
यस किसिमको बेथितिलाई रोक्न नेप्से प्रमुख साउदले टिम चेञ्ज गर्न जरुरी छ । मनिटरिङ्ग चुस्तदुरुस्त बनाउन साउदको हात छ। अब नयाँ दक्ष प्राविधिक टिमलाई ल्याएर अनलाइन सफल बनाउन आवश्यक छ, यसबाट साउद कुनै गिरोहबाट परिचालित नभएको पुष्टि हुनेछ । एक विश्वसनीय सफ्टवेयर इञ्जिनियरबाट सल्लाह लिएर अनलाइनलाई सफल बनाउनुपर्छ।  अर्थमन्त्रालय समेतले यो विषयमा गम्भीर जाँचबुझ गर्न आवश्यक छ ।

राधा पोख्रेल(अध्यक्ष)नेपाल पूँजीबजार लगानीकर्ता संघ

उद्घाटनको ५–६ महिना बितिसक्दा समेत यो अनलाइनमा समस्या जारी छ । यसले गर्दा लगानीकर्ताले अत्यधिक सास्ती खेप्नुपरेको छ । यो नयाँ सिस्टमलाई थाती राखेर पुरानै सिस्टम चालू गर्न माग गर्दछु ।

संरचना चौधरी(अध्यक्ष)नेपाल पूँजीबजार संघ 

ब्रोकरहरुले अर्डर धेरै हाले सिस्टममा समस्या आउने रहेछ । यो त लाजमर्दो अवस्था भयो नि । धेरै अर्डर हाल्दा काम नगर्ने सिस्टम लगानीकर्तालाई किन चाहियो ? तसर्थ वाइकोलाई विदा गरेर पुरानै सिस्टम चलाउनुपर्छ ।