काठमाण्डौ । पदमा बहाल भएकै बेला जीवनमै पहिलोपटक सेयर बजारमा प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आइपीओ जारी गर्ने पहिलो आयोजना, त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको २० कित्ता मात्र सेयर पाएका छन् । 

यो कम्पनीको आइपीओमा आवेदन दिने सबैले सेयर पाए । न्यूनतम २० कित्ताको दरले सबैलाई बाँडिएको सेयरमा थप १० कित्ता पाउनलाई भने गोलाप्रथाको सहारा लिइएको थियो । 

करिब एक तिहाई लगानीकर्ताले २० बाहेक थप १० कित्ताको दरले सेयर पाएका थिए । गोलप्रथामा प्रधानमन्त्री ओली भाग्यमानी देखिएनन् । उनले २० कित्तामै चित्त बुझाउनुपर्यो । 

प्रम ओली मात्र होइन, उनकी धर्मपत्नी राधिका शाक्यले पनि २० कित्ता मात्र सेयर पाइन् । प्रम ओली र उनकी धर्मपत्नीले कम्पनीको अधिकतम भर्न पाउने १० हजार कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

उनीहरुसँगै उर्जामन्त्री वर्षमान पुन र उनकी पत्नी तथा पूर्व संविधानसभा अध्यक्ष ओनसरी घर्ति समेत भाग्यमानी ठहरिएनन् । एकहजार कित्ताका लागि आवेदन दिएका मन्त्री पुन र २ हजार कित्ताका लागि आवेदन दिएकी घर्ति, दुवैले २० कित्ताको दरले सेयर पाएका निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

त्रिशुलीको आइपीओ बिहीबार जलस्रोत मन्त्रालयको सभाहलमा एक समारोहका बीच बाँडफाँड गरिएको हो । 

आईपिओमा आवेदन गरेका ५० हजार २६७ जनाले थप १० कित्तासहित ३० कित्ताको दरले सेयर पाए । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । 

आईपिओमा परेका आवेदनमध्ये कुल एक लाख ५४ हजार ५५९ वटा सदर भउको थियो । जसअनुसार एकलाख चारहजार २९२ जना आवेदकले २० कित्ताको दरले सेयर पाएका हुन् ।

सेयर खरीदका लागि परेकामध्ये ६७ वटा आवेदन रद्ध भएका थिए । 

यो कम्पनीले चैत ७ देखि ११ गतेसम्म कुल निश्कासित ३७ लाख ५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने १ लाख ११ हजार १५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएको छ । र, बाँकी रहेको ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरेको थियो ।

इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

यो कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा रहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।