काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 
 
यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८५' निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 
 
यो क्रममा बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरेको छ । 
 
यो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 
 
सम्झौताअनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्नेछ । 
 
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमति प्राप्त गरिसकेको छ । 
 
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति आएपछि ऋणपत्र निश्कासन हुनेछ।
 
माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानी गर्दा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । १० वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 
 
प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,००० (तीन अर्ब रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरिने बैंकले जनाएको छ । 
 
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।