-भक्तराज रसाइली
काठमाण्डौ । बिना परिवर्तन नवीनता सम्भव छैन । सिर्जनशीलता अभिप्रेरणा र सुधारको संकेत हो । ती व्यक्ति जसले परिवर्तनका लागि साहस जुटाउँछ, त्यहाँ राम्रा अवसरका ढोकाहरु निशर्त खोलिन्छन् र ऊ नै लिडर बन्दछ र थुप्रै अनुयायीहरु कमाउँछ । यस्तै एक पात्र हुन् हरि पाण्डे ।

माघ ४ गतेदेखि काठमाण्डौको कालिकास्थानमा पहिलो कटिया हाउस रेष्टुरेन्ट खोलिएको छ, जहाँ स्वस्थकर मानिएको माटोका भाँडामा खसीको मासु पकाएर बेचिन्छ । फ्रेस फुडल्याण्ड  रेष्टुरेन्टलाई  नै  पुर्नसंरचना गरी बनाइएको उक्त रेष्टुरेन्टमा हरि पाण्डे, सीपी पौडेल, नवीन धामी र राज तिमिल्सिना गरी ५ जनाको लगानी रहेको छ ।

पाँचजना लगानीकर्तामध्येका एक हरि पाण्डे गोल्डेन गेट कलेजबाट होटल म्यानेजमेन्टमा बीएचएम उत्तीर्ण हुन् । २४ वर्षीय पाण्डेले बीएचएम सकिएपछि अष्ट्रेलिया जाने योजना बनाएका थिए । योजनाअनुसार बिदेश जानुअघि रिफ्रेस हुन आफ्ना साथीभाइसँग नेपालभित्र आन्तरिक भ्रमणमा निस्कने निर्णय गरे । सोही निर्णय अनुसार घुम्न जाने क्रममा वीरगञ्ज समेत पुगेका पाण्डेले त्यहीबाट विजिनेश आइडिया सिके ।

वीरगञ्जमा उनीहरुले कटियाको मासु अवलोकन गर्ने र चाख्ने मौका समेत पाएका उनले विगत कोट्याउँदै भने–‘त्यसपछि युनिक लागेकाले बिदेश मोह समेत छाडियो र यसैलाई विजिनेश बनाउने सोंचले अगाडि बढियो ।’ 

उनी र उनका साथी नवीन कटियाको जननी ठाउँ रौतहट जिल्लाको गरुडा कटरिया नगरपालिकातर्फ हुइँकिए । त्यहाँका प्रत्येक रेष्टुरेन्ट उनीहरुले चाहरे । बाहिर जानभन्दा नेपालमा नै केही गर्न सकिने सोंचका साथ उनीहरुले आफूमा सवार अष्ट्रेलियाको भूत निकालिदिए ।

राजधानी(काठमाण्डौबासी)लाई नयाँ स्वाद दिन सकिने अठोटका साथ हरि र नवीनले त्यहाँ १ महिना तालिम समेत लिए । चिनेका मान्छे भएकाले उनीहरुले निशुल्क तालिम लिने अवसर पाएको हरिले बताए । 

कटियाको प्रयोगात्मक ज्ञान प्राप्त भएपछि उनीहरुले बीएचएम पढेको ज्ञान र अनुभव समेतलाई फ्यूजन गर्दै फ्रेस फूडल्याण्ड रेष्टुरेन्टलाई मोडिफिकेसन गरी माघ ४ गते कटिया हाउस रेष्टुरेन्टमा रुपान्तरण गरे ।  

उनीहरुले काठमाण्डौमा कटियाको मासुको व्यवसायिक बिक्रीअघि काठमाण्डौमा सो सम्बन्धमा रिसर्च समेत गरेको हरिले सुनाए । 

काठमाण्डौमा कटियाको मासु बेच्ने पहिलो रेष्टुरेन्ट भएको हरिको दाबी छ । नयाँ ढंगले केही गर्ने सोंचका साथ कटियाको मासुको परिकार बेच्न थालिएको उनको भनाई छ । 

हालको उनको कटिया हाउसमा ९जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीनसय वा ३ सय ५० ग्राम खसीको मासुलाई ४५ मिनेट कोइलाको भूङ्ग्रोमा पकाएर खसीको मासु बेचिरहेका हरिको समूहले ७ सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । कटियाको मासुका साथमा सलाद, अचार अनि भात/तावा रोटी/चिउरा भूजा मध्ये एक कम्प्लेमेन्ट्री दिइने गरेको उनीहरुले बताए।

माटोको भाँडालाई कटिया भनिन्छ । कटियामा खसीको मासु राखी कोइलामा रापले पकाउने गरिन्छ  । माटोका भाँडामा प्याज, लसुन, कटिया मसला, खसीको मासुलाई भाँडा अर्थात कटियामा राखेर पकाउने गरिन्छ । माटोका भाँडोमा पकाएको यस प्रकारका मासु स्वास्थ्यका दृष्टिकोणले समेत हितकर भएको हरिको दाबी छ । उनकाअनुसार मरमसाला कम, कम बोसो र सफ्ट मिट भएकैले समेत यसले शरीरलाई कुनै हानी नगर्ने बरु यसरी पकाउँदा मासुमा पाइने पोषकतत्व अन्य तरिकाबाट मासु पकाउँदाको तुलनामा बच्ने दाबी गरे ।

परिवारबाट समेत पूर्ण साथ तथा सहयोग पाएपछि नेपालमा केही नौलो प्रयोग गरी बिजनेस गरेकामा हरिलगायतका टिम दङ्ग देखिन्थे । 

काठमाण्डौका विभिन्न स्थान र काठमाण्डौबाहिर समेत शाखा विस्तार गर्ने भावी योजना रहेको हरिले सुनाउन भ्याए ।

रु.२०-३० लाख खर्चेर विदेशमा जूठो भाँडा माझ्न जानुभन्दा जबसिकर(जागिर खोज्ने) हैन कि जबगिभर(जागिर दिने) हुनपर्ने उनको धारणा छ । 

नेपालमा नै केही गर्न सकिने भएकोले पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता त्याग्न हरिले नेपाली युवाहरुलाई सुझाव दिए । 

बिदेशबाट समेत नेपालमा लगानी भित्रिरहेका बखत युवाहरुले मुलुकमा समृद्धिको संवाहक बन्नुपर्नेमा उनको जोड छ । 

‘नेपालमा प्रत्यक्ष दुःख देखिन्छ।’ हरिले भने–‘फेसबुकमा फोटोमात्र राम्रो देखिने हो, त्यहाँ(विदेशमा) अत्यन्त दुःख हुन्छ । बिदेश नजाने हैन, तर त्यहाँबाट ज्ञान र सीप लिएर मुलुकभित्र रोजगारी सिर्जना गर्ने खालका व्यवसाय गर्नुपर्छ।’

उनको रेष्टुरेन्टले गर्ने कुल कारोबारमा ९० प्रतिशत हिस्सा कटियाको मासुको व्यापारले नै धानेको छ । 

कटियाको मासु बनाउनैका लागि एक छुट्टै सेफ राखेको हरिको भनाइ छ । 

कटिया हाउसमा दैनिक ५० जनाभन्दा बढी ग्राहकहरुको भीड लाग्ने गरेको हरिको दाबी समेत छ । आफूहरुको व्यवसाय सोचेभन्दा राम्रो गतिमा अगाडि बढिरहेको उनले बताए । 

उनको रेष्टुरेन्टबाट अहिले दैनिक औसत ३५ हजार रुपैयाँ बराबरको कटियाको मासु बिक्री हुने गरेको छ । यो टिमले कटियाको दर केही कम राखेर कम मार्जिनमै व्यापार गर्ने सुरुवाती रणनीति लिएको देखिन्छ । 

स्कूले जीवनदेखि नै शिक्षक, अभिभावकले जागिरे मानसिकता दिमागामा भरिदिने गरेका कारण समेत सबै नेपाली आत्मनिर्भर बन्न नखोज्ने प्रवृति बढ्दै गएकोमा चिन्तित हरिले बिजशालासँग भने–‘बिजनेस खोलेर नाफा कमाउन सकिने कुरा कसैले भन्दैन । हामीले यो परम्परा तोड्न आवश्यक छ ।’

रेष्टुरेन्ट रातभर खोल्न पाउनुपर्ने उनको माग छ । रातभर खोल्ने व्यवस्था भए समयको सदुपयोग हुने उल्लेख गर्दै उनले भने–‘अहिले साढे ९ बजे नै बन्द गर्नुपर्छ । यसले व्यवसायमा क्षति पुग्छ ।’

बैंक तथा वित्तीय संस्थामार्फत रेष्टुरेन्ट नै धितो राखेर ऋण लिन पाए केही राहात हुने उनको अपेक्षा छ । 

अहिले ऋण लिनु पर्दा धितोका रुपमा घरजग्गा नै राख्नुपर्ने बाध्यतालाई हटाएर आफूजस्ता युवाहरुलाई व्यवसायको प्रकृति हेरेर बिनाधितो ऋण दिने व्यवस्था सरकारबाट भए यसले देशमै व्यवसायिक वातावरण बनाउने उनको दाबी छ । 

पर्यटन नेपालको भर्जिन व्यवसाय भएकाले रेष्टुरेन्ट क्षेत्रमा लगानीमा हातेमालो गर्न उनले आग्रह गर्दै भने–‘तपाईँसँग पैसा छ हामीसँग भिजन, त्यसैले आउनुहोस्, सहकार्य गरौं ।’