-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को अनलाइन कारोबार प्रणाली(नट्स)को प्रयोगमा दिइएको निर्देशन र उपलब्ध सिस्टमबीच तालमेल नहुँदा ब्रोकर र लगानीकर्ता अन्यौलमा परेका छन् ।

ब्रोकरहरुले अनलाइन युजर नेम र पासवर्ड दिन अस्वीकार गर्नका पछाडिको कारणको रुपमा ‘प्रयोगकर्ताहरुले कारोबार नहुने संस्थापक सेयरमा खरिद अर्डर दिनसक्ने जोखिम’लाई अगाडि सार्दै आएका छन् । 

कारोबार नहुने सेयरमा अर्डर राखेमा यसले दुर्घटना निम्त्याउने भयले अनलाइन लगइन नदिएको ब्रोकरहरुको जिकिर छ । 

कुनै पनि कम्पनीको सेयरमूल्यमा कहिलेकाहीँ लिमिटभन्दा बढी बिड राखिदिने परिपाटीले समेत अफ्ठयारो पर्नसक्ने भन्दै एक ब्रोकरले बिजशालासँग भने–‘नेप्सेको टिएमएसमा बिक्रीका लागि लिमिट नचाहिने भनेर नेप्सेले निर्देशन त दियो, तर लिमिट नराखी बिक्री नै गर्न मिल्दैन । नेप्सेको निर्देशन र सिस्टमबीच तालमेल नभएकाले समेत लगइन दिन समस्या भएको हो, यो कुरा सम्बद्ध सबैले बुझिदिनुपर्छ ।’

नेप्सेले गत साता ब्रोकरहरुले लगानीकर्ताहरुलाई  अनलाइन लगइन नदिएकोमा ध्यानाकर्षण जनाउँदै नेप्सेमा गुनासो डेस्क राखेको थियो । सो डेस्कमा विभिन्न ब्रोकरहरुविरुद्ध दिनहुँ गुनासो आउने क्रम बढेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबारमा सहभागी हुन र यसको प्रयोग गरेर मात्र धारणा बनाउन बारम्बार भनिरहँदा केही ब्रोकरहरुले लगानीकर्ताहरुलाई अनलाइनको युजर नेम र पासवर्ड दिन आनाकानी गरिरहेका भेटिएको दाबी गरे । 

साउदले अनलाइन प्रयोग गर्दा लगानीकर्ताले बिक्री गर्ने क्रममा लिमिट राख्नु नपर्ने र ब्रोकरहरुले बिक्री अर्डरमा निष्क्रिय गर्न मिल्ने गरी  सिस्टम बनाइएको जिकिर गरे । 

यस किसिमको असहजता भए ब्रोकरहरुसँग पुनः बसेर छलफल गरी समाधान गरिने उनको भनाई छ ।

यता, नेप्सेले अनलाइन युजर नेम र पासवर्ड लगानीकर्तालाई दिन अटेर गर्ने केही ब्रोकरहरुलाई बोलाएर आइतबार सचेत गराएको छ ।

बहुप्रतिक्षित नेप्सेको अनलाइन कारोबार प्रणालीले सेयर बजारका लागि कोशेढुंगा सावित हुने धेरैको अपेक्षा थियो । यसबाट बजार विकास र विस्तारमा समेत सहयोग पुग्ने जानकारहरु दाबी गर्थे। तर, अनलाइन कारोबार प्रणालीको कार्यान्वयनपछिका दिनहरु अपेक्षा गरिएजस्तो उत्साहजनक बन्न सकेको छैन । 

पूँजीबजारमा प्रविधि भित्रिनु आफैंमा सुखद स्थिति हो । प्रविधिले सबै सम्बद्ध पक्षलाई फाइदा नै पुर्याउँछ । 

प्रविधिलाई आत्मसाथ गर्दै सबै पक्षबाट नेप्सेको नयाँ अनलाइन प्रणालीलाई सफल बनाउन सम्पूर्ण पक्षहरुबीच हातेमालो आवश्यक छ ।