काठमाण्डौ । आफ्नो स्थापनाकालदेखि नै “ १ व्यक्ति– १ खाता, १ परिवार – १ उद्यमी” नारा आत्मसाथ गर्दै अगाडि बढेको मुक्तिनाथ विकास बैंकले  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको  “समृद्धिसँग जोडौं, सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित 'खोलौ बैंक खाता अभियान-२०७६' लाई सफल पार्नका लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ । 

बैशाख १ गतेदेखि लागू उक्त बचत खाता खोल्ने प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्नासाथ बैंकले रु १००(एकसय रुपैयाँ) नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल मोवाइल नम्बरमा रु १०० बराबरको रिचार्ज (टपअप )गरिदिनेछ । 

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभर भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटीएमबाट  निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध रहेका बैंकले जनाएको छ । 

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटिएमबाट करिब ६ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।