काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा निकै राम्रो प्रगति गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सबै सूचकमा राम्रो फड्को मार्दै सेयरधनीलाई आकर्षक लाभांश दिनसक्ने हैसियत बनाएको छ। 

बैंकले समीक्षा अवधिमा ९८ करोड १८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । बैंकको तेश्रो त्रैमासको यो प्रगति यही गतिमा कायम रहे र रेगुलेटरी एड्जस्टमेन्टका थप दायीत्व सिर्जना नभए यो आर्थिक वर्षमा बैंकले आफ्ना सेयरधनीलाई १६.२५ प्रतिशत भन्दा बढी लाभांश दिनसक्छ । 
हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ५ करोड रहेको छ । 

बैंकले समीक्षा अवधिमा १ अर्ब २४ करोड नाफा आर्जन गरेको हो । नाफा गत वर्षको यही अवधिको तुलनामा ४५.२९ प्रतिशतले बढी हो । 

बैंकले गत वर्ष १ अर्ब २२ करोडमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ७० करोडको उचाईमा पुर्याएको छ । 

बैंक व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कस्ट अफ फण्ड बढे पनि खूद ब्याज आम्दानीमा ४० प्रतिशतको प्रगति भएको छ ।

अघिल्लो वर्ष १ अर्ब ८५ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ६० करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ८१ अर्ब १६ करोड निक्षेप संकलन गरी ७४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १४.०९ प्रतिशतले बढाएको यो बैंकले कर्जा बिस्तारमा २०.१३ प्रतिशतको प्रगति गरेको देखिन्छ । 

बैंकले आफ्नो रिजर्बकोषलाई पनि थप मजबुत बनाएको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ३० करोडमा सीमित कोषको आकार बढेर २ अर्ब ७३ करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा पूँजी पर्याप्तता अनुपात १९.६६ प्रतिशतले घटेर १२.६३ प्रतिशतमा झरेको छ भने ०.३५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.४८ प्रतिशत पुगेको छ । 

गत वर्ष भन्दा बैंकको सीसीडी अनुपात केही सहज देखिएको छ । गत वर्ष यही अवधिमा ७८.६६ प्रतिशत रहेको यस्तो अनुपात घटेर यो वर्ष ७७.३४ प्रतिशतमा झरेको हो ।

समीक्षा अवधिमा बैंकको आधार दर १०.५२ प्रतिशत रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) गत वर्षको भन्दा ४५.२९ प्रतिशतले बढेर २०.५४ रुपैयाँको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३३.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.६३ गुणा कायम भएको छ ।