काठमाण्डौ । हरिकुमार श्रेष्ठ विगत लामो समयदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता हुन् । हिजोबाट निष्कासन भएको गणपति लघुवित्तको आइपीओ भर्न सिडिएससीको 'मेरो सेयर' मार्फत उनले १० बजेदेखि प्रयास गरे, तर आइपीओ भर्न सकेनन् । 

यसैगरी अनामनगरस्थित एक ब्रोकर कार्यालयमा भेटिएका अर्का लगानीकर्ता खगेन्द्र कोइरालाले समेत 'मेरो सेयर' मार्फत आइपीओ भर्न खोजे, तर सिडिएससीको सिस्टमले काम नगरेपछि समस्यामा परेको बताए। 

श्रेष्ठ र कोइराला झै देशका हजारौं लगानीकर्ताले विगत ३ दिनदेखि सिडिएससीको मेरो सेयर पोर्टलबाट आइपीओ खरीदका लागि अनलाइन आवेदन दिन पाएका छैनन् । पटक पटक प्रयास गर्दा समेत 'मेरो सेयर' बाट आवेदन पोस्ट भइरहेको छैन । 

यो समस्या सोमबार नै समाधान भइसकेको सिडिएससीका अधिकारीहरुले दाबी गरे पनि मंगलबार समेत समस्या उस्तै छ । आखिर भएको के हो त ?
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार ९ वटा कम्पनीको आइपीओ र हकप्रद इस्यू भएकाले अनलाइन ट्राफिक बढेर यस्तो समस्या भएको हो । 

प्रतिमिनेट २ सय ७३ जनाले मेरो सेयरबाट आइपीओ आवेदन गरिरहेका र नेप्से बढेकाले समेत 'मेरो सेयर' प्रयोगकर्ताहरुले पोर्टफोलियो हेर्न मेरो सेयर ने चलाइदिदा समस्या आएको गुप्ताको भनाई छ । 

सिंहदरबारभित्र रहेको सरकारी केन्द्रिकृत तथ्यांक केन्द्रमा विद्युत आपूर्ति बन्द हुँदा आइतबारदेखि समस्या विकराल भई 'मेरो सेयर' मा प्राविधिक जटिलता थपिएको उल्लेख गर्दै गुप्ताले बिजशालासँग भने–‘हाम्रा २ वटा युपीएसमध्ये एउटामा विद्युत आपूर्ति बन्द भई राउटरमा कनेक्सन लष्ट भएर यो समस्याको सुरुवात भएको हो । विद्युत आइसकेपछि पनि युपीएस चार्ज वा अन नहुँदा अफ्ठयारो परेको हो ।’

प्रत्येक युपीएसमा ८/८ वटा मेसिन जडान गरिएका कारण प्रत्येक युपीएसले  ४ लाख युजर मात्र धान्दछ । तर, आइतबार एउटा युपीएसमा ४ लाख २२ हजार लोड परेको उल्लेख गर्दै गुप्ताले भने–‘अब दुईवटा युपीएसलाई टूवे गरिसकिएको छ, यस्तो समस्या कम हुँदै जान्छ।’

लगानीकर्तालाई यस्तो आह्वान
गुप्ताले सिडिएससीको तर्फबाट लगानीकर्ताहरुलाई 'मेरो सेयर'  चलाउँदा सावधानी अपनाइदिन र सहयोग गरिदिन आह्वान समेत गरेका छन् ।

सिडिएससीको तर्फबाट राउटर, कम्प्युटर र हार्डवेयर थप्ने क्रम जारी रहेको उल्लेख गर्दै गुप्ताले भने–‘लगानीकर्ताले पनि 'मेरो सेयर' बाट आवेदन दिएपछि लगआउट गरिदिनुहोला । कम्प्युटरबाट आवदन दिंदा क्याचे, हिस्ट्रीलाई डिलिट गरेर मात्रै ब्राउजर खोल्नुहोला ।’

लगानीकर्ताले यति कुरामा मात्रै सहयोग गरिदिए पनि हालको समस्या कम हुने गुप्ताको दाबी छ ।