काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोरले नेपालका बहुराष्ट्रिय कम्पनीहरुलाई उदाहरणको रुपमा पेश गर्दै नेपालमा लगानी बढाउन चिनियाँहरुलाई आह्वान गरेका छन् ।

उनले नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले लोभलाग्दो रिटर्न पाएका उल्लेख गर्दै नेपालमा लगानीका लागि कुनै समस्या नरहेको समेत सो क्रममा बताएका थिए ।  

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा सहभागी अध्यक्ष मोरले चीनको बेइजिङमा बैशाख १५ गते आयोजित “नेपाल–चीन आर्थिक तथा व्यापार मञ्च”लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

राष्ट्रपति भण्डारीको समेत सहभागिता रहेको सो कार्यक्रममा उनले नेपाल र चीनबीच केही वर्षयता विकास हुँदै गएको आपसी सम्बन्धले लगानी र औद्योगिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताएका थिए ।

अध्यक्ष मोरले दक्षिण एशियाका मुलुकमध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको बताएका थिए । 

हालै नेपाल सरकारले लगानी सुरक्षाका लागि उद्योग–व्यवसायसँग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले कुनै पनि लगानीकर्ताले नेपालमा निश्चिन्त भई लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउँदै उनले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य रहेको बताएका थिए । 

नेपालमा हालै सम्पन्न “नेपाल लगानी सम्मेलन २०१९” मा चिनियाँ लगानीकर्ताको सहभागिता त्यसभन्दा अघि चीनमा आयोजित“पूर्व लगानी सम्मेलन”, “नेपाल–चीन आर्थिक तथा व्यापारिक मञ्च” मा व्यक्त विचारबाट समेत चीनको निजी क्षेत्रले नेपाल लगानीका लागि भरपर्दो र विश्वासिलो देशको रुपमा लिएको आफ्नो अनुभव रहेको सुनाएका थिए ।

अध्यक्ष मोरले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल–भारत वाणिज्य सन्धि, नेपाल–चीन वाणिज्य सन्धि र नेपाली वस्तुहरुको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत जस्ता महत्वपूर्ण फाइदाको विषयमा समेत सुझाएका थिए । 

नेपाली उत्पादनको निकासीमा समस्या नरहेको भन्दै चीनबाट सुरु भएको बीआरआइ जस्ता ठूला परियोजनाबाट नेपाली उद्योग/व्यवसाय प्रवद्र्धन गर्ने क्षेत्रमा राम्रो फाइदा हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष मोरले नेपाल उद्योग परिसंघ र चीनको सीसीपीआईटीबीचको आपसी समझदारी र सहकार्यले दुई देशबीचको लगानी र व्यवसाय प्रवद्र्धनमा थप सहयोग पुग्ने विचार समेत सो क्रममा व्यक्त गरेका थिए ।