-भक्तराज रसाइली
काठमाण्डौ । शिवम सिमेन्ट्सको सेयर मूल्यमा दिनहँुजसो पोजिटिभ सर्किट लागिरहेको छ ।

कम्पनीको तेश्रो त्रैमासको वित्तीय विवरण उत्साहजनक आउने हल्ला पिटाएर यो कम्पनीको सेयरको मूल्य बढाउने अभियान थालिएको थियो । अहिले पनि विभिन्न ब्रोकरेज हाउसमा बिजशाला टिम पुग्दा युनिलिभर,बोटलर्स नेपाल(तराई) लिमीटेडको मूल्य सोसरह नै शिवम्को मूल्य पनि पुग्छ भन्ने परिचालित गिरोहबाट हौवा पिटाइराखिएको भेटियो । 

हल्ला गरिएजस्तो शिवम सिमेन्टले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा लगानीकर्तालाई नै चकित पार्ने गरी प्रगति गरेको देखिएन, अर्थात उसको प्रगति औसत मात्र रहेको वित्तीय विवरण आयो । हल्ला चलाइएजस्तो वित्तीय विवरण नआउँदा समेत शिवम् सिमेन्टको सेयर मूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लाग्न छाडेको छैन । 

दैनिक रुपमै मार्केट डेप्थमा खरीद गर्नेको चाप अत्यधिक छ, जब कि बिक्री गर्नेहरु नगन्य छन् । आखिर यस्तो किन भइरहेको छ ? वित्तीय विवरण गज्जबको नआएको अवस्थामा समेत कसको स्वार्थ वा खेलमा शिवम्को सेयर मूल्य बढाइँदैछ ? कुनै गम्भीर खेल त भइरहेको छैन ? हामीले यिनै विषयमा खोज्ने प्रयास गरेका छौ, जुन क्रममा केही चाखलाग्दा तथ्यहरु फेला परेका छन् । 

शिवम् सिमेन्टको वित्तीय विवरण आउनुअघि र पछिका दिनका मार्केट फ्लोरसिट हेर्ने हो भने त्यहाँ एउटा संशयपूर्ण तथ्य फेला पर्छ । शिवम सिमेन्टको प्राय अधिकांश सेयरको खरीदारी ब्रोकर नम्बर ५८ मार्फत मात्रै भएको फ्लोरसिटबाट देखिन्छ । बजार बढ्न थालेपछि र निरन्तर पोजिटिभ सर्किट लागेपछिका दिनमा अन्य केही ब्रोकर यसमा थपिए पनि मुख्य रुपमा शिवमको सेयर ब्रोकर नम्बर ५८ ले नै किनिरहेको देखिन्छ, जुन संशयपूर्ण र अनौठो छ । 

सन्दीप जलानले आफूलाई ब्रोकर नम्बर ५८ को रुपमा ब्रोकरेज सेवा प्रवाह गरिरहेको नासा सेक्युरिटिजको पूर्व संचालक भन्ने गर्छन् । उनकी पत्नी अल्का गोयल शिवम् सिमेन्ट लिमीटेडमा सर्वसाधारण सेयरधनीको तर्फबाट नवनिर्वाचित संचालक हुन् । 

पत्नी शिवम सिमेन्टको संचालक रहनु र सोही कम्पनीको सेयर उनकै पति पूर्व संचालक रहेको ब्रोकरेज हाउसबाट खरीदारी हुनुलाई ‘स्याल कराउनु र बाख्रा हराउनु’को संयोगको रुपमा मात्र मान्न बिजशाला स्रोतहरु तयार छैनन् ।  

सेयर बजारमा कुनै कम्पनीको सेयरमूल्यमा भएको उत्तारचढाव र चलखेलको अनुसन्धान गर्न चाहनेका लागि नेप्सेको फ्लोरसिट सूचनाको खानी नै हो । यही फ्लोरसिटमा हामीले धेरै दिनदेखि नियाल्दा ५८ नम्बर ब्रोकरको खरीदमा अत्यधिक सहभागिता रहेको अनौठो तथ्य भेटेका हौ । 

नेपाली सेयर बजारमा सूचीकृत कम्पनीका सञ्चालक समितिबाट गोप्य सूचना चुहावट हुने कार्य नौलो होइन । विभिन्न सूचीकृत कम्पनीहरुको सञ्चालक छनौट गर्दा ब्रोकर कम्पनीहरुले प्रोक्सी उठाएर आफ्नैलाई जिताउनुका पछाडि कम्पनीका महत्वपूर्ण सूचनाको स्वार्थ जोडिएको हुन्छ । आफ्नैलाई संचालक बनाएपछि मूल्यमा चलखेल गर्न सहज हुन्छ । र, आफ्नाहरुले पनि संचालकमा गएपछि जारी रहेको  बेला संचालक समितिको बैठकलाई छाडेर शौचालय जाने निहुँमा महत्वपूर्ण सूचना लिक गर्ने गरेका रमाइला तथ्यहरु समेत यसअघि सार्वजनिक भइसकेकै हुन् । 

यसरी नै इन्साइडर ट्रेडिङ फस्टाएको देखेर पनि नदेखे जस्तो गर्ने नेप्से र सेबोन हात बाँधेर बसेको देखिन्छ  । ब्रोकर कम्पनी, सूचीकृत कम्पनी र नियामक नेप्से र सेबोनकै कतिपय कर्मचारीहरुले सबैतिर नेक्सस तयार गरी आफू कमाउने र सर्वसाधारणलाई डूबाउने खेल खेल्ने गर्छन् । शिवम् यो खेलबाट अछूतो छ भन्ने आधार भेटिएन ।

नेप्से र सेबोनमा कार्यरत कतिपय कर्मचारीहरु फेक नामबाट दोश्रो बजारमा खुलेआम खरिदबिक्रीमा खेल्ने गरेको एक ब्रोकरेज हाउसका कर्मचारी बताउँछन् ।

हिजोका दिनमा नेप्सेमा शिवमजस्तै कहलिएका गोरखकाली टायर, नेकोन एयर, ज्योति स्प्रिङ, अरुण वनस्पति, नेपाल एग्रो, बिटुमिन नेपाल लगायतका सेयरहरु आज गुमनाम अवस्थामा छन् । 

शिवम्ले आफ्नो पूँजीको १२ प्रतिशत मात्र सेयर सर्वसाधारणका लागि जारी गरेको छ । सो कम्पनीको सेयर हाल अचाक्ली बढाएर बेच्ने हेतूले फेक फेसबूक आइडी र बजारमा हौवा पिटाउने गिरोह समेत तयार गरिएको स्रोतको दाबी छ ।

हिजोका दिनमा रियल सेक्टरका कम्पनीमध्ये एकाधको मात्र उच्च मूल्य पुगेकोमा शिवम्को अवस्था के होला, त्यो आगामी दिनमा कम्पनी र बजारले निर्धारण गर्ने कुरा हो । यद्यपि कुनै कम्पनीको सेयरमा उचालिएर थचारिएको उदाहरण एनटीसीलाई हेरे पुग्छ । कुनै स्वार्थ समूहको लहै लहै र बहकाउमा लागेर सेयर किन्न थाल्ने हो भने सेयर बजारले करोडपति होइन, करोडपति भइसकेकालाई रोडपति बनाइदिने प्रशस्तै उदाहरण हामीसँग छन् । 

दोश्रो बजार अत्यन्तै जोखिमपूर्ण हुन्छ । कम्पनीको वास्तविकता र अवस्थालाई नजरअन्दाज गरी उचालिएर खरिद गरिए कालान्तरमा पुर्पुरोमा हात हाल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।