-भक्तराज रसाइली
काठमाण्डौ । कार्यान्वयनको मुखमा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौटको चक्र १ कार्यदिनमा झार्नुपर्ने आफ्नै मागबाट लगानीकर्ताका नेताहरु पछाडि हटेका छन् ।

मुद्रा तथा पूँजीबजार सुधारका लागि अर्थमन्त्रीद्वारा गठित कमिटीमा सहभागी लगानीकर्ताका नेताकै जोडबलमा कारोबार राफसाफ तथा फछ्र्यौटको चक्र १ कार्यदिनमा झार्नुपर्ने सुझाव समेटिएको थियो । सो प्रतिवेदनको बुँदा नम्बर ७.५४ मा सेयर बजारमा  हुने धितोपत्र कारोबारलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरोकारवाला निकायसँग नेप्सेको अनलाइन ट्रेडिङलाई पूर्ण रुपमा आबद्ध गरी हाल रहेको टीप्लस–३ राफसाफ चक्रलाई टीप्लस वानमा ल्याउने सुझाव दिइएको थियो ।

आफैंबाट दिइएको सुझाव कार्यान्वयनको अन्तिम चरणमा आयोजित छलफलमा लगानीकर्ताका नेताहरु पछि हटेका हुन् । 

यो सुझाव कार्र्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबार केही लगानीकर्ता संघसंगठनका नेतासँग छलफल राखेको थियो । सो क्रममा उनीहरुले टी प्लस वानमा तत्काल जान नसकिने र यसका लागि आम लगानीकर्ताहरुको राय संकलन गर्नुपर्ने भन्दै समय मागेका छन् । 

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले टीप्लस वानका लागि अन्य लगानीकर्ताहरुसँग पनि राय लिएर निर्णयमा पुग्ने भनिएको प्रष्ट पारे । नेप्सेले टीप्लस वान राफसाफमा जाने भन्ने विषयमा हिजो डाकेको बैठकमा नेपाल पूँजी बजार लगानीकर्ता संघ,नेपाल इन्भेष्टर्स फोरम,नेपाल पूँजी बजार संघ सहभागी थिए । यी संगठनका नेताहरुले टी प्लस वानमा तत्काल जाने विषयमा सहमति दिएनन् । 

लगानीकर्ता संघसंगठनका नेताहरुलाई बोलाएर राय संकलन गरी अन्तिम  प्रतिवेदन धितोपत्र बोर्ड समक्ष पेश गर्ने नेप्सेको कार्यतालिका रहेको छ । तर, कार्यान्वयनको मुखैमा लगानीकर्ताका नेताहरुको असहमतिले यो कार्यतालिका अझै लम्बिने संभावना बढेको छ ।  

अहिले सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताहरुले ब्रोकरलाई ढिला भुक्तानी गरिदिने प्रचलन छ । तिनै संघका नेताहरु र संस्थागत लगानीकर्ताहरुले १ महिनासम्म  उधारो कारोबार गर्ने प्रवृत्ति रहेको र टीप्लस वानमा तत्काल जाँदा यो सुविधा नपाइने भएकोले लगानीकर्ताहरु कार्यान्वयनको मुखमा धरमराएका बताइन्छ । एक ब्रोकरले भने–‘ब्रोकरको ओडी लिमिट भएर मात्र चल्न सजिलो भएको छ, अन्यथा क्लोजआउटमा पर्ने समस्या अझ बढेर त जान्थ्यो नै अधिकांश ब्रोकर हाउसमा ग्राहकहरुले सेयर किनेर सोही सेयर बेचेर हिसाब मिलान गर्ने परिपाटी मौलाउँदा यसले थप विकराल रुप धारण गरिरहेको छ । ३ कार्यदिनमा त सेयर खरिद गरेको पैसा ग्राहकबाट उठाउन धौधौ परिरहेका बेला टीप्लस वानमा गई एकैदिनमा राफसाफ हुन कठीन छ । यस्तो व्यवस्थाप्रति लगानीकर्ता इमानदार नबन्ने हो भने नेप्सेले कारोबार निलम्बनमा पार्ला कि भन्ने त्रासले भयभीत छौं ।’

नेप्सेले टी प्लस थ्री विस्थापन गरी टी प्लस वानको कार्यान्वयनका लागि एक कमिटी नै बनाएको थियो । नेप्सेकी उपप्रबन्धक र सिडिएसीकी सञ्चालक समेत रहेकी प्रवीण पन्धाक लिम्बूको संयोजकत्वमा नेप्से आइटी प्रमुख निराञ्जनसिंह नायक, सिडिएसीका योगराज जोशी र विज्ञका तर्फबाट ब्रोकर नम्बर ३६का धितोपत्र व्यवसायी सन्तोष मैनाली सो कमिटीमा छन् । कमिटीको सदस्य सचिवका रुपमा योगराज जोशी रहेका छन् ।

यसैबीच, टी प्लस वानमा जानुपर्ने आफ्नै माग र सुझावविरुद्ध लगानीकर्ताका नेता उभिएपछि टिप्लस २ सम्म हुनसक्ने र सोही निर्णय बोर्डसमक्ष सुझाव हुनसक्ने स्रोतको अनुमान छ ।

धितोपत्र बजारमा कारोबार भइसकेपश्चात् राफसाफमा हाल ३ कार्यदिन पनि भ्याइनभ्याइको अवस्था रहेको उल्लेख गर्दै सिडिएससीस्थित स्रोतले भन्यो–‘अहिले राफसाफ म्यानुअल हुने भएकाले र अन्तर्राष्ट्रिय अभ्यास समेत १ कार्यदिनभित्र सम्भव हुन गाह्रो छ ।’

धितोपत्र बजारमा कारोबार सम्पन्न भए पश्चात् खरिदकर्ताले बुझाउनुपर्ने रकम तथा बिक्रीकर्ताले बुझाउनुपर्ने धितोपत्रको निक्र्यौल गर्ने कार्य नै राफसाफ हो । 

नेप्सेमा कारोबार भइसकेको धितोपत्रहरु भुक्तानी फछ्र्यौट गर्नुपर्ने समयलाई टिप्लस–३ भनिन्छ । हाल धितोपत्र कारोबार भएको तीन कार्यदिनभित्र कारोबार भएको धितोपत्र तथा रकमको राफसाफ तथा फछ्र्यौट हुनपर्ने व्यवस्था रहेको छ ।

टिप्लस ३ मा राफसाफ तथा फछ्र्यौट प्रक्रिया सम्पन्न गर्न टि प्लस २ अर्थात् कारोबार गरेको पर्सिपल्ट सम्ममा खरिदकर्ताले खरिद गरिएको धितोपत्र बापतको रकम बुझाउनपर्नेछ । त्यसपश्चात टिप्लस ३ मा बिक्रीकर्ताले रकम प्राप्त गर्नेछ र खरिदकर्ताले धितापत्र प्राप्त गर्नेछ ।

दबाब समूहको आपत्ति
यसैबीच, सेयर बजारमा रहेका ५ संघसंगठनमध्ये हरि ढकाल नेतृत्वको लगानीकर्ता दबाब समूहलाई टी प्लस १ कार्यान्वयन वा अन्य विकल्पमा जाने बिषयमा नेप्सेबाट बैठकमा नबोलाइएपछि सो समूहका नेताले आपत्ति जनाएका छन् । ढकालले टीप्लस वान हुनुपर्नेमा समूह सकारात्मक रहेको बताउँदै बिजशालासँग भने–‘हाम्रै आन्दोलनका कारण अर्थमन्त्रीले सुझाव कार्यदल गठन गरेका थिए । त्यसपछि त्यहाँ लगानीकर्ताको तर्फबाट टी प्लस वानको सुझाव गएको थियो । तर, त्यही सुझाव कार्यान्वयनको मुखैमा डाकिएको बैठकमा हामीलाई सहभागी गराइएन, यसको कारण नेप्सेले प्रष्ट पार्नुपर्छ।’