काठमाण्डौ । दश महिनासम्म सेयर कारोबार रोक्का गरी लगानीकर्तालाई सकसमा पारेको ओम डेभलपमेन्ट बैंकले फेरि सेयरधनीलाई धोका दिएको छ । 

आफ्नै पूर्व घोषणाबाट पछि हट्दै यो बैंकले एनएमबी बैंकसँगको मर्जरलाई कारणको रुपमा प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४/७५ बाट वितरण गर्ने भनी घोषणा गरी राष्ट्रबैंक पुगिसकेको १२.७० प्रतिशत बोनस सेयर खारेजीको निर्णय गरेको हो । 

ओम बैंकको जेठ १० गते शुक्रबार बसेको संचालक समितिको १६५ औं बैठकले १२.७० प्रतिशत बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो । 

ओम बैंक र एनएमबी बैंकबीच जेठ २ गते मर्जरमा जाने सम्झौता भएको थियो । बैंकले मर्जरको क्रममा भएको सम्झौताको  २७ नम्बर बुँदालाई प्रस्तुत गर्दै मर्जरपछि एकीकृत साधारणसभा सम्पन्न गरी कायम दुवै संस्थाका सेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट नगद लाभांश बोनस सेयर वितरण गर्ने सहमति भएको र यो अवस्थामा १२.७० प्रतिशत बोनस सेयर वितरण गर्दा सम्झौताको बुँदा नम्बर २५ मा उल्लेख गरिएको सेयर स्वाप रेसियोमा समेत असर पर्ने भएको भन्दै खारेज गरेको हो । 

ओमको यस्तो झूठ
ओम डेभलपमेन्ट बैंकले एनएमबी बैंकसँग मर्जरमा सम्झौता गर्न काठमाण्डौको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा ओम बैंकका संचालक समितिका अध्यक्ष सुशीलकुमार गोशालीले प्रस्तावित बोनस फिर्ता नहुने र बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीकै आधारमा एनएमबी बैंकसँग सेयर स्वाप रेसियो तय हुने दाबी गरेका थिए । तर, उनको दाबीविपरीत संचालक समितिले राष्ट्रबैंकमा पुगिसकेको बोनस सेयर फिर्ताको निर्णय गरी सेयरधनीमाथि धोकाधडी गरेको छ ।