-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई आइपीओमा दिइरहेको आरक्षणको सुविधा र लाभकर छुट लगायतका सुविधा असान्दर्भिक रहेको भन्दै लगानीकर्ता खारेजीको माग गरेका छन् । 

बोर्डले म्युचुअल फण्डहरुका लागि आईपीओको  ५ प्रतिशत आरक्षणको सुविधा दिएको छ । तर, लगानीकर्ताहरुले धितोपत्र बजारमा म्युचुअल फण्डहरुको गतिविधि तथा भूमिका शंकास्पद हुँदै गएको र बजारको बिस्तार तथा विकासमा भन्दा पनि यस्ता फण्ड संचालकहरु अनेक तिकडम खेलेर बजारको वातावरण धूमिल बनाउन लागि परेका भन्दै असान्दर्भिक आरक्षण र सुविधा खोस्नुपर्ने आवाज उठेको हो । 

म्युचुअल फण्डका संचालकमा बस्ने उच्च नेतृत्वले बजार बढ्न लागे आफ्नो व्यक्तिगत सेयर आफू संचालित फण्डलाई  भिडाउने र घट्न थाले किनाउने गर्दै  म्युचुअल फण्डलाई डम्पिङ साइटका रूपमा विकास गरिरहेका लगानीकर्ताहरुको आरोप छ । 

कतिपय म्युचुअल फण्डका संचालकहरुको आफ्नै ब्रोकर हाउससँग गोप्य रूपमा मिलेर सर्वसाधारण सोझा नेपालीहरुको पैसामा खेलवाड गरिरहेका समेत आरोप लागेको छ । 

स्रोतहरुले म्युचुअल फण्डका स्वार्थी संचालकहरुसँग धितोपत्र बोर्ड र नेप्सेका कतिपय कर्मचारीको साँठगाँठ हुने गरेको र उनीहरुको योजनामा बजार प्रभावित पार्ने काम हुँदा सोझाको लगानी जोखिममा पर्ने गरेको दाबी गरेका छन् । 

सेयर लगानीकर्ता विवेक आचार्यका अनुसार मार्केट मेकरका रूपमा सेबोनले प्रमोट गरेको, तर इन्भेस्टमेन्ट कम्पनीको जस्तो गतिविधि गर्ने यस्ता म्युचुअल फण्डहरूलाई दिइँदै आएको सेवासुविधा तत्कालै कटौति हुनुपर्छ । 

कतिपय म्युचुअल फण्डहरुलाई सेबोनले कार्वाही गर्दासमेत नचेतेको र जनताको पैसा बैंकमा डिपोजिट राख्न आफैं आउने बताउँदै आचार्यले भने–‘यस्ता अराजक गतिविधि गर्नेको लाइसेन्स खारेज गरिनुपर्छ, नत्र भने बोर्डले जवाफ दिनुपर्छ । पूँजीगत लाभकरको छुट र आइपीओमा ५ प्रतिशत आरक्षणको सुविधा तत्काल खारेज हुनुपर्छ ।’

यसैगरी, अधिवक्ता तथा सेयर  लगानीकर्ता चेतनाथ लुइँटेलले सधैभरी ५ प्रतिशत आरक्षण र पूँजीगत लाभकर छूट दिइन नहुने उल्लेख गर्दै म्युचुअल फण्डहरु आफैंमा प्रोफेसनल हुँदा हुँदै पनि नयाँ लगानीकर्ता प्रवेश रोक्ने सुविधा पाएकाले अविलम्ब हटाउनुपर्ने बताए । ‘आम लगानीकर्ताहरुको म्युचुअल फण्डप्रतिको विश्वास कम हुँदै गएको छ।’ लुइँटेलले भने–‘शक्तिको दूरुपयोग गर्दै यस्ता फण्ड संचालन गर्ने कम्पनीहरु जागिर खाने र लगाउने ठाउँमा परिणत हुँदैछन् । फण्डहरुको गोप्य सूचनामा सहज पहुँच भएकाले उनीहरुले इन्साडर ट्रेडिङ समेत उत्तिकै गरिरहेका हुन्छन्, यो विषयमा पनि छानबिन हुनुपर्छ।’

सक्रिय लगानीकर्ता शिवचन्द्रले म्युचुअल फण्डहरूलाई ५ प्रतिशत आरक्षण र पूँजीगत लाभकरमा छूट लगायत ज्वाईं सुविधा किन दिइएको ? भन्दै प्रश्न गरे । बजारलाई फण्डहरुले केही नदिएका दाबी गर्दै उनले सर्वसाधारणको गाँस काटेर विभिन्न सुविधा दिइनु अनुचित रहेको तर्क अगाडि सारेका छन्।

दुई–तीन  वर्ष अघि किनिएको म्युचुअल फण्डको बजार मूल्य र न्याभमा भारी गिरावट आइरहेको सुनाउँदै ३ वर्षसम्म आम्दानी नदिने म्युचुअल फण्डहरुले बदमासी गरिरहेको कुवेतमा कार्यरत नेपाली सेयर लगानीकर्ता गगन नेपालीको आरोप छ । 

पछिल्लो समय धितोपत्र बजारमा कारोबार भइरहेका अधिकांश म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू(न्याभ) अंकित मूल्यभन्दा तल छ र  बजारको स्थायित्वका यस्ता फण्डहरुले कुनै भूमिका नै नखेलेका विज्ञहरुको दाबी छ। 

यस्ता फण्ड संचालकहरुको तीव्र चलखेल र खेलोफड्कोकै कारण समग्र म्युचुअल फण्डप्रति सर्वसाधारण लगानीकर्तामा नराम्रो धारणा बनिरहेको र यसैको परिणाम स्वरुप पछिल्लो समय खुलेका म्युचुअल फण्डहरुको आइपीओ बिक्री हुन हम्मे हम्मे परिरहेको विश्लेषकहरु बताउँछन् ।