काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ कित्ताको सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्टमा गाभिएपछि ३३ कित्ता सेयर पाउनेछन् ।

डिडिएले तय गरेको सेयर स्वाप अनुपात संचालक समितिबाट पारित भएसँगै प्राप्तिको कामलाई निश्कर्षमा पुर्याउन दुवै संस्थाले असार ६ गतेका दिन विशेष साधारणसभा आह्वान गरेका छन् । 

दुवैको साधारणसभाले गाभ्ने गाभिने विषयको प्रस्ताव पारित गर्नेछन् । 

विशेष साधारणसभा प्रयोजनका लागि जेविल्स फाइनान्सको जेठ २७ गते एक दिन बुक क्लोज हुने बताइएको छ । 

उता, इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभामा फाइनान्सलाई गाभेसँगै बैंकको शेयर संरचना पनि परिवर्तन हुने भएकोले बैंकको प्रवन्धपत्रको संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने कार्यक्रम समेत छ ।  बैंकले चाहि विशेष साधारणसभा प्रयोजनका लागि जेठ २९ गतेदेखि बुक क्लोज गर्नेछ ।

हाल ‍जेविल्स फाइनान्सको चुक्तापूँजी ८० करोड ३८ लाख रुपैयाँ रहेको छ। डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियो अनुसार मिलान गर्दा जेविल्स फाइनान्सको शेयरपूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्नेछ। नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। यसरी जेविल्स फाइनान्सयको बिलयपछि बैंकको चुक्तापूँजी १२ अर्ब ८५ करोडको उचाईमा पुग्नेछ ।