काठमाण्डौ । गत मंसिर १८ गते भएको सर्वोच्चको एक फैसलाको पूर्ण पाठ आएसँगै यसले बैंकिङ क्षेत्रमा हलचल ल्याइदिएको छ । 

सर्वोच्चले राष्ट्रबैंक आफ्ना कर्मचारीको अवकाश प्रक्रियाको विषयमा निर्णय गर्न स्वतन्त्र र स्वायत्त रहेको उल्लेख गर्दै लोकसेवा आयोगबाट २०७४ कात्तिक २३ को निर्णयअनुसार संघीय सरकारले निजामति सेवा ऐनमा कायम गरेको ३० वर्षे सेवा अवधि सम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नगर्न भनी केन्द्रीय बैंकलाई परामर्श दिए पनि यसलाई नेपाल राष्ट्रबैंक पालना गर्न बाध्य नहुने भन्दै आफ्ना कर्मचारीको अवकाश प्रक्रियाको विषयमा निर्णय गर्ने स्वायत्तता राष्ट्रबैंकलाई मात्र रहेको भनेको हो । 

यो आदेशसँगै नेपाल राष्ट्रबैंकले ३० वर्षे सेवा अवधिको व्यवस्थालाई हटाएर ५८ वर्षको उमेर हदसम्बन्धी व्यवस्थाको प्रक्रियालाई अगाडि बढाउने देखिन्छ । 

नेपाल राष्ट्रबैंकमा हाल काम गरेको ३० वर्ष पुगेपछि वा ५८ वर्ष उमेर हद नाघेपछि अवकाश पाउने दुईखालको व्यवस्था छ । राष्ट्रबैंकले भने ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्षको उमेर हद सम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन खोजेको छ । 

यही उद्देश्यले केन्द्रीय बैंकले लोकसेवा आयोगसँग परामर्श मागेको थियो । तर, आयोगले ३० वर्षे सेवा अवधि सम्बन्धी व्यवस्था विपरीत कुनै परिवर्तन नगर्न भनेपछि यो विषय सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले मंसिर १८ गते फैसला गर्दै राष्ट्रबैंक आफ्ना कर्मचारीको अवकाशको प्रक्रिया वा व्यवस्था गर्ने विषयमा स्वायत्त रहेको भन्दै आफू अनुकुल अवकाश नीति बनाउने बाटो खोलिदिएको हो । 

यो फैसला सम्बन्धी आदेशको पूर्ण पाठ बुधबार मात्र सार्वजनिक भएको छ । यो सार्वजनिक भएसँगै अब राष्ट्रबैंकका लागि ५८ वर्षे उमेर हदका आधारमा अवकाश नीति बनाउने बाटो खुलेको छ । 

यस्तै, यो मुद्धा चल्दाचल्दैको अवस्थामा अवकाश पाएका कर्मचारीको सम्बन्धमा समेत के कस्तो सुविधाको व्यवस्था गर्नुपर्ने हो, यो विषयमा निर्णय गर्ने अधिकार समेत केन्द्रीय बैंककै रहने समेत फैसलामा स्पष्ट गरिएको छ । 

यो फैसला आएसँगै केही समयअघि अवकाश हुनका लागि एक महिने विदामा बसेका केही कार्यकारी निर्देशकहरु केन्द्रीय बैंक नै फर्किनसक्ने संभावनाहरुको समेत लेखाजोखा भइरहेको छ । तर, ती कार्यकारी निर्देशकहरु भने राष्ट्रबैंक व्यवस्थापन र संचालक समितिमा पूर्ण अधिकार रहेकोले त्यहाँबाट आउने निर्णयका आधारमा सबै कुरा निर्धारण हुने बताइरहेका छन् । 

सर्वोच्चबाट भएको आदेशको पूर्ण पाठ यसप्रकार छ :