काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेठ २४ गते(आज)देखि रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गरेको छ । 

यो ऋणपत्रका इकाईमा लगानी गर्नेले १०.५० प्रतिशतका दरले वार्षिक ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६—६ महिनामा हुनेछ । 

रु दुई अर्ब रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०८२” नामको ऋणपत्रलाई नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनका लागि योग्य मानिने र थप, स्टक एक्सचेञ्जमा समेत कारोबार हुने गरी व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्ने भएको हो र यसअघि पनि रु ७५ करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०७८” र रु ५० करोड रुपैयाँको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड–२०७७” लगायत अन्य निश्कासनहरु पनि गरेको थियो ।

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ र सोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषलाई छुट्याइएको छ । 

सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्टमार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन् । 

सातबर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटलले जिम्मा पाएको छ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ ।