काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई उत्तेजित बनाउने र गिराउने प्रवृति व्याप्त भएको उल्लेख गर्दै अहिलेको अवस्थामा सेयर बजार घट्नुपर्ने कुनै कारण आफूले नदेखेको दाबी गरेका छन् । 

धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवमा उद्घाटन मन्तव्य राख्दै अर्थमन्त्री डा. खतिवडाले मुलुकका आर्थिक परिसूचकहरु उत्साहजनक रहेका, कम्पनीहरुले समेत राम्रो नाफा कमाइरहेकोले सेयर बजार घट्ने कुनै कारण नरहेको दाबी गरेका हुन् । 

‘मुलुकको अर्थतन्त्र उदीयमान छ । हामी निरन्तर ७ देखि माथिको आर्थिक वृद्धि हासिल गर्दै अगाडि बढिरहेका छौ । बैंकिङ प्रणाली नाफामा छ, धेरै कम्पनी नाफामा छन्, यो कुरा सेयर बजारमा प्रतिबिम्बित हुनुपर्छ ।’ अर्थमन्त्री खतिवडाले भने–‘बजारलाई उत्तेजित बनाउने र गिराउने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ । यस्ता तत्वहरुको विषयमा नियामक निकाय धितोपत्र बोर्ड चनाखो हुनुपर्छ ।’

अर्थमन्त्रालयले बजेटमार्फत पूँजीबजारको संरचनागत सुधारका लागि धेरै कार्यक्रम समेटेको उल्लेख गर्दै उनले करको अन्यौल र समस्याको निराकरण भइसकेकोले अब धेरै द्विविधाग्रस्त हुनुपर्ने अवस्था नरहेको जिकिर गरे । 

‘बजेटमा पूँजीगत लाभकर घटाएर प्रस्ताव गरिएको छ ।  करका कारण विगतमा बजार अन्यौलग्रस्त भयो, जुन समस्या बजेटमार्फत समाधान भइसकेको छ ।’ खतिवडाले भने–‘वित्तीय औजारहरुलाई करको विशेष सुविधा दिइने भनिएको छ । अब धितोपत्र बजारलाई सघन बनाउने हो, धेरैभन्दा धेरैको सहभागिता जुटाउने हो ।’ 

सेयरमा महिलालाई आरक्षण
उनले सेयर बजारमा महिलाहरुको प्रवेश बढाउन उनीहरुका लागि विशेष आरक्षणको व्यवस्था गर्न समेत धितोपत्र बोर्डलाई निर्देशन दिए।

‘सम्पत्तिमा महिलाको हक कायम गराउने भन्दै घरजग्गा रजिष्ट्रेसन पासमा महिलाहरुलाई सुरुमा १० प्रतिशत छुट दिइएको थियो । त्यसको अनुपात बढेर अहिले २५ प्रतिशत पुगेको छ।’ खतिवडाले दृष्टान्त पेश गर्दै भने–‘सेयरमा पनि महिलाहरुको स्वामित्व र लगानी बढाउन के गर्नुपर्छ बोर्डले गृहकार्य अगाडि बढाओस् । हुन त मैले बजेटमै यो विषय समेट्न खोजेको थिएँ, तर तयारी पूरा नभएका कारण अगाडि बढ्न सकिएन ।’

खतिवडाले सम्पत्तिमा महिला र पुरुषको समान हक कामय गर्न महत्व बढ्दै गएका वित्तीय औजारमा समेत उनीहरुका लागि विशेष आरक्षणको नीति ल्याइनुपर्नेमा जोड दिए । ‘जस्तो अहिले आइपीओ पाउनेले न्यूनतम १० कित्ता पाउने भनिएको छ, महिलाको हकमा पनि यस्तै केही आरक्षण गर्न सकिए गर्नुहोस्, अर्थमन्त्री खुशी नै हुनेछ ।’ उनले थपे । 

उनले धितोपत्र बोर्ड राष्ट्रबैंकको छायामा पर्दै आएको र राष्ट्रबैंकबाट तयार हुने मौद्रिक नीतिको प्रभाव बजारमा समेत पर्ने गरेको भन्दै यी दुवै खालको प्रवृति अन्त हुनुपर्नेमा जोड दिए । ‘नियामक निकाय स्वतन्त्र र स्वायत्त हुनुपर्छ, कतैबाट प्रभावित बन्नु हुँदैन । चाहे त्यो अर्थमन्त्रालयबाट होस् वा अन्य कुनै नियामकबाट । व्यवसायिक, स्वतन्त्र र प्रभावकारी निकायको रुपमा अगाडि बढाउन धितोपत्र बोर्डको ऐन संसोधन नै अगाडि बढिसकेको छ । कानून आवश्यक शर्त मात्र हो, त्यो आफैंमा पूर्ण हुँदैन । त्यसको कार्यान्वयन पक्ष पनि हेरिनुपर्छ ।’ उनले थपे ।

अर्थमन्त्री खतिवडाले बैंकिङ तरलता बढ्दा सेयर बजार माथि जाने, घट्दा ओरालो लाग्ने अभ्यास नै गलत रहेको जिकिर गरे । ‘यस्तो हुनुहुँदैन ।’ उनले भने–‘मौद्रिक नीतिको प्रभाव बजारमा पर्नु नै हुँदैन।’

तरलता संरचना र ब्याजदरको कारणले समेत बजारमा प्रभाव परिरहेको विश्लेषण गर्दै उनले रिटर्नको संरचना, ब्याजदर र लाभांशको बीचको अन्तर र तुलनात्मक अवस्था पनि पूँजीबजारको सन्दर्भमा महत्वपूर्ण कडी रहेको बताए । ‘ब्याजदर अस्वभाविक रुपमा माथि गयो भने धितोपत्र बजारमा के हुँदो रहेछ भन्ने कुरा हामीले देखिसक्यौं ।’ उनले भने ।

उनले सेयर बजारलाई कसरी गतिशील बनाउने भन्ने बिषयमा सोचिन आवश्यक रहेको र मौद्रिक नीतिका कारण सेयर बजारको अंक तलमाथि नहुने अवस्था बनाइन आवश्यक रहेकोमा जोड दिए । 

बजारलाई निर्वाध रुपमा अगाडि बढाउन के गर्नुपर्छ, तरलताको व्यवस्था कसरी गर्नुपर्छ, कर सम्बन्धी प्रोत्साहन कसरी गर्ने र यी सबै काम गरी बजारलाई अझ दरिलो, बलियो र भरपर्दो बनाउने विषयमा सरकार गम्भीर रहेको समेत बताए । 

झेली नगरौं !
अर्थमन्त्री खतिवडाले धितोपत्र बजारका वैकल्पिक उपकरणको रुपमा ऋणपत्रहरु निश्कासन हुन थाले पनि यसमा समेत प्रारम्भदेखि नै झेली हुन थालेको दाबी गरेका छन् । 
साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुँदा निजी क्षेत्रको लगानी घटीमा दुईतिहाईको परिकल्पना गरिएको, त्यसमा बैंकिङ प्रणालीबाट बढीमा ५ खर्ब जुटे पनि निजी क्षेत्रबाट मात्रै १० खर्ब जुटाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि वैकल्पिक उपाय भननेको धितोपत्र बजार नै रहेको बताए । 

ऋणपत्र निश्कासनकर्ताहरुले इक्वीटी कम्पोनेन्टलाई १० देखि १५ प्रतिशत राखेको छु भन्दै रिस्क चाहि बैंकमा लगेर पार्किङ गराइदिने र आफू चाहि चूप लागेर बस्ने प्रवृति देखिएको उल्लेख गर्दै उनले भने–‘यो औजारमा जानु भनेको रिस्क सेयरको मेकानिजममा जानु हो । रिस्क सेयरिङमै झेली गर्यिो भने धितोपत्र बजार कसरी विकास हुन्छ ? डेब्ट इक्वीटीमा झेली नगरौं । स्वस्थ पूँजीबजारको विकास गरौं ।’ 

उनले अस्वस्थ प्रतिस्पर्धा बढ्यो भने विगतमा ब्याजदरमा गरे झै अन्य विषयमा पनि अर्थमन्त्रालयले हस्तक्षेप गर्ने चेतावनी समेत दिए । ‘हिजोको दिनमा विवेक नपुर्याएको भए अहिले बजारको ब्याजदर कस्तो हुन्थ्यो होला ?’ प्रश्न गर्दै उनले थपे–‘ त्यसकारण हामीले बजारलाई उत्तेजित गर्नु हुँदैन । ब्याजदरमा पनि एउटा संयमता चाहिन्छ, बजार पनि अनुशासनका आधारमा चल्नुपर्छ ।’ 

उनले ब्याजदरको अस्वभाविक प्रभाव पूँजीबजारमा नपरोस् भन्नका लागि डिपोजिट र इक्वीटीको संरचना समेत मिलाउन आवश्यक रहेको बताए । 

उनले विगतमा एउटा नियामक बलियो हुँदा अर्को कमजोर हुने समस्या देखिएको उल्लेख गर्दै नियामकहरुबीचमा समेत नियमित बैठक र समन्वय हुनुपर्नेमा जोड दिए ।