काठमाण्डौ । अन्तराष्टिय मुद्रा कोष(आइएमएफ)का प्रमुख क्रिस्टन लगार्डले चीन अमेरिकाबीचको व्यापार युद्धका कारण विश्वको अर्थतन्त्रमा खतराको बादल मडारिन थालेको उल्लेख गर्दै यही समस्याका कारण सन् २०२० मा विश्वको अर्थव्यवस्थामा ४५५ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिएकी छिन् । 

जी ट्वान्टी देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुखहरुको बैठकको समापनको अवसरमा शनिवार जापानको फुकुकामा बोल्दै लगार्डले भनेकी छिन् कि यो बैठक यस्तो समयमा भएको छ, जतिबेला बैश्विक अर्थव्यवस्थामा स्थिरता तथा विकास समेत मजबुत हुने संकेत प्राप्त भइरहेको छ । 'यो राम्रो खबर पनि हो, तर अझै पनि अगाडिको बाटो अनिश्चित तथा कैयन नकारात्मक जोखिमले भरिपूर्ण छ ।' उनले भनेकी छिन्-'सबैभन्दा ठूलो खतरा हालको व्यापार युद्धले गर्दा भइरहेको छ ।' 

आइएमएफको अनुमानमा अमेरिका तथा चीनद्वारा एकअर्काको उत्पादनमा लगाइएको अतिरिक्त कर(शुल्क)का कारण विश्वको घरेलु उत्पादनमा २०२० मा ०.५ प्रतिशत अर्थात करिब ४५५ अर्ब डलरको कमी हुनसक्छ । यो भनेको आर्थिक गतिविधिमा निकै ठूलो सुस्तताको कारण समेत बन्न सक्नेछ। 

आइएमएफकी प्रमुखले ब्याजदर निकै कम रहेको र कैयौ विकसित देशहरुमा ऋणको स्तर बढिरहेको उल्लेख गर्दै वृद्धिको लय समातिरहेको बजार अचानक आएको परिवर्तन(व्यापार युद्ध)प्रति संवेदनशील बन्नुपर्ने सुझाव दिएकी छिन् । 

अतिरिक्त कर नलगाउन र व्यापार युद्ध समेत तत्काल अन्त गरी विश्वको चिन्ता गर्न उनले अमेरिका र चीनसँग आग्रह गरेकी छिन् । 

'हाल वैश्विक अर्थव्यवस्थामा देखिएका जोखिमहरु कम गर्ने एउटै उपाय व्यापार युद्धलाई अन्त गर्नु हो ।' लगार्डले भनेकी छिन्-'यसका लागि हाल एकअर्काको उत्पादनमाथि लगाइएको कर अन्त गर्नुपर्छ र थप कर लगाइनुहुन्न ।' 

साथै, अन्तराष्टिय व्यापारतन्त्रको आधुनिकीकरणको दिशामा समेत हामीले कामलाई जारी राख्नुपर्ने हुन्छ । यसो गरेर नीति निर्माताहरुले आफ्नो अर्थव्यवस्थामा जहाँ निश्चितता र विश्वास पैदा गर्नेछन् र त्यहाँ वैश्विक विकासमा पनि सहयोग दिनेछन् । 

आइएमएफकी प्रबन्धक निर्देशकले भनेकी छिन् कि अधिकांश देशको मौद्रिक नीति तथ्यांकमा आधारित हुनुपर्छ र यसमा ब्याजदरमा कटौतिको गुञ्जाइसलाई पनि छाडिदिनुपर्ने हुन्छ । वित्तीय नीतिमा विकास, ऋण तथा सामाजिक उद्देश्यबीच सन्तुलन हुनुपर्छ। तीव्र तथा अधिक समावेशी विकासको सुरुवातका लागि बजारको उदारीकरणदेखि लिएर कार्यबलमा महिलाहरुको भागिदारीलाई  प्रोत्साहित गर्नेजस्ता ढाँचागत सुधार गर्न आवश्यक छ । 

उनले भनेकी छिन् कि यदि यस्ता उपायहरुको अवलम्बन गर्ने हो भने जी ट्वान्टी देशको सकल घरेलु उत्पादनको विकास दर दीर्घकालमा ४ प्रतिशतले बढ्नसक्छ ।