काठमाण्डौ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्रबैंक अस्थिर नीतिको शिकार बन्दै गएको भन्दै कडा आलोचना गरेका छन् । 

म्यानले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै क्षेत्रीले केन्द्रीय बैंकले लिने नीतिहरुमा अस्थिरता देखिन थालेको उल्लेख गर्दै ‘किन यस्तो हुन्छ ?’ भन्दै प्रश्न समेत गरे । 

‘वित्तीय स्थायीत्व कायम गर्ने दायीत्व केन्द्रीय बैंकको हो ।’ उनले भने–‘तर केन्द्रीय बैंकले लिएका नीति नै किन अस्थिर खालका हुन्छन् ? छोटो समयसम्म पनि नटिक्ने नीति किन बनाइन्छ ?’

उनले केन्द्रीय बैंकको नेतृत्वको असक्षमताप्रति समेत घुमाउरो प्रहार गरेका छन् । 

नेतृत्वले अडान लिन नसकेकै कारण कतिपय नीति राम्रा हुँदा समेत फितलो कार्यान्वयन भएको र अन्य निकायको हस्तक्षेपमा परेर त्यस्ता नीति निस्क्रिय बनेका दाबी गरे । 

‘हेज फण्डको विषयमा पनि यस्तै देखियो  । पहिला बाहिरबाट पैसा ल्याए केन्द्रीय बैंकले हेजिङको जिम्मा लिन्छ भन्ने सन्देश गयो ।’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका क्षेत्रीले भने–‘तर यो नीति टिकेन, बीचमा हाइड्रोलाई बाहेक अरुलाई हामी हेजिङ गर्न सक्दैनौ भन्ने कुरा आयो । यसरी हचुवाको भरमा नीति आउनुभएन । कुनै नयाँ नीति नै ल्याउनुछ भने पनि राम्रोसँग अध्ययन गरेर कमसेकम एउटा आर्थिक वर्षसम्म टिक्ने खालको हुनुपर्छ।’

उनले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिमार्फत तामझामकासाथ ल्याइएको ब्याजदर करिडरको नीति समेत फेल खाएको दाबी गरे । ‘हामीले ब्याजदर करिडरको नीति गौरवका साथ लिएर आयौं।’ उनले भने–‘तर अहिले सु्निन्छ अर्थमन्त्रालयले त्यो नीतिलाई खासै सपोर्ट गरेन, भाउ दिएन । उल्टै अर्थबाटै ब्याजदर करिडरको प्रतिकूल हुने विचार बाहिर आइरहेको छ भन्ने बजार हल्ला पनि सुनिन्छ । त्यसो हो भने हामीले घोषणा गरेका नीति पूरा गर्न किन हिचकिचाउँछौ ?’

उनले विगतमा राष्ट्रबैंकले खुल्ला बजार अर्थतन्त्रको नीतिविपरीत ब्याजदरको इस्यूमा बैंकहरुलाई सपोर्ट गरेकै कारण कतिपय बैंक उत्तेजित देखिएका दाबी समेत गरे । ‘ब्याजदर निर्धारण गर्ने कुरा बजारलाई छाडिदिने भन्ने हो भने ५–६ महिना परीक्षण गरेर हेरौं ।’ उनले थपे–‘त्यसपछि थाहा हुन्छ कुन बैंक कति पानीमा छ भन्ने कुरा ।’ 

उनले राष्ट्रबैंकलाई सुझाव दिंदै बैंक तथा वित्तीय संस्थाहरुको राम्रो किसिमले निरीक्षण गर्ने पद्धतिको विकास गर्न आग्रह गरे । बैंकहरुले दिएको सूचनाका आधारमा राष्ट्रबैंक बसेको दाबी गर्दै मर्जरलाई प्राथमिकता दिने हो भने सुपरभिजन दह्रो बनाउन आग्रह गरे । ‘सुपरभीजनलाई बलियो बनाउनुहोस् र ब्याजदर बजारलाई छाडिदिने हो भने बैंकहरुले नै मर्जरका लागि प्रपोजल पठाउने परिस्थिति बन्न सक्छ ।’

गत वर्षसम्म १० प्रतिशतमा सीमित राष्ट्रिय बचत बढेर यो वर्ष २०.५ विन्दूमा पुगेको उल्लेख गर्दै उनले भने–‘बचतलाई व्यवस्थित बनाउन बैंकहरुलाई पनि केही काम दिनुपर्छ ।’ 

अर्थशास्त्री समेत रहेका क्षेत्रीले चालु आर्थिक वर्षको मुद्रास्फिति दर ४.२ प्रतिशतमा सीमित रहेको कुराले वास्तविक मुद्रास्फितिको प्रतिनिधित्व गर्न नसक्ने जिकिर गरे । ‘यो औपचारिक घोषणाको कुरा मात्र हो ।’ उनले भने–‘बजारमा तपाई हामीले महसुस गरेको मुद्रास्फितिको कुरा बिल्कुल फरक छ ।’ 

उनले औपचारिक र अनौपचारिक मुद्रास्फितिको विषयमा प्रत्येक ३ महिनामा अध्ययन गरी दुवैलाई समायोजना गरी हाइब्रीड नीति बनाउन सके मात्र बजारको वास्तविक मुद्रास्फिति दर थाहा हुने जिकिर समेत गरे । 

उनले आगामी वर्षको मौद्रिक नीतिबाट बैंकिङ तालिम दिने निश्चित संस्थामा एक–डेढ वर्षको तालिम लिएपछि मात्र बैंकमा कर्मचारीको रुपमा नियुक्ति पाउने नीतिगत व्यवस्था गर्न राष्ट्रबैंकलाई सुझाए ।