नयाँदिल्ली । तपाइँ बाइक चलाउनुहुन्छ । तर तपाइँकी गर्लफ्रेन्डलाई तपाइँको बाइकको आवाजै मन पर्दैन । तपाइँले आफ्नो बाइकको आवाज परिवर्तन गर्न लाख कोसिस गरिसक्नुभयो तर सकिरहनुभएको छ । 

हरेश नखानुहोस्, अब बाइकको आवाज परिवर्तन गर्न सम्भव छ । अब तपाइँ आफ्नो बाइकको आवाज स्मार्टफोनमार्फत एउटा एप्लिकेसनको सहयोगमा परिवर्तन गर्न सक्नुहुन्छ । यो सम्भव बनाइदिएको छ, भारतकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग भएको लेस इलेक्ट्रिक बाइकबाट । 

यो बाइक मंगलबार भारतमा लन्च गरिएको छ । एआईको सहयोग बाइकको आवाजमात्र होइन अन्य थुप्रै चिज कन्ट्रोल गर्न सकिन्छ । बाइक निर्माता कम्पनी रिभोल्ट मोटर्सले पहिलोपटक इलेक्ट्रिक टु ह्विलर सेगमेन्टमा यो बाइक ल्याएको हो । भारतमै पहिलोपटक यो बाइकमा प्रयोग गरिएका आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगबाट बाइकको आवाज सजिलै तरिकाले परिवर्तन गर्न सकिन्छ । 

रिभोल्टको वेब साइटमा उपलब्ध एउटा भिडियोअनुसार यो बाइकको आवाज स्मार्टफोनमार्फत परिवर्तन गर्न सकिन्छ । स्मरण रहोस् रिभोल्ट मोटर्सको स्थापना मोबाइल फोन कम्पनी माइक्रोम्याक्सका सहसंस्थापक राहुल शर्माले गरेका हुन् । 

यो बाइकका विशेषताहरु :

– यो बाइकको आवाज स्पिड र यसमा पर्ने प्रेसरमा निर्भर हुन्छ । 
– यो भारतकै पहिलो एलटीई कनेक्टेड बाइक हो, जसले फोरजी सिमकार्डको मात्र सपोर्ट गर्छ। जसको सहयोगले यो बाइक हरपल इन्टरनेटमा कनेक्ट रहिरहन्छ । 
– यो बाइकमा आयातीत ब्याट्री प्याकको प्रयोग गरिएको छ ।
– यो बाइकको ब्याट्री एकपटक फुल चार्ज गर्दा १५६ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । 
– यो बाइकमा ब्याट्री स्वापिङ (फेरबदल) को सुविधा पनि उपलब्ध छ । 
– निर्माण कम्पनीले हालसम्म यो बाइकको बिक्री मूल्य सार्वजनिक गरेको छैन ।