काठमाण्डौ । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबद्र्धन गरिएको छ । 

नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो–नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष–२०२० को बारेमा चर्चा गर्दै नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा प्रस्तुती दिएका थिए । 

सो अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्वमाथि प्रकाश पार्दै नेपाल भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरुलाई थप व्यवसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे ।

यस्तै सोट्टो–नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे ।

सो अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा व्यवसायिक गतिविधि विस्तार सम्बन्धमा अन्तक्रियासमेत सम्पन्न गरिएको थियो । नेपाली राजदूतावास बैंककको सहकार्यमा बैंककमा आयोजना गरिएको नेपाल साँझ–२०१९ मा थाइल्याण्डका लागि नेपालका राजदुत गणेशप्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको चर्चा गरेका थिए । उनले थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरुलाई अनुरोध गरे । कार्यक्रमको अवसरमा लुम्बिनीका लागि सद्भावना दुत बिक्रम पाँडे काजीले बुद्धको जीवन र बुद्धिष्ट सर्किटको विषयमा गहन प्रस्तुती दिएका थिए । नेपाल सेल्स मिसन–२०१९ अन्तर्गत बौद्ध धमावलम्वीहरु बढी भएका तीन वटै देशका पर्यटन व्यवसायी र सञ्चारकर्मी माझ बौद्ध धार्मिक पर्यटनसहित नेपालका पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारात्मक कार्य गरिएको थियो । 

तथ्यांकअनुसार सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४ जना, कम्बोडियाबाट ३ हजार ७ सय ९० जना र थाईल्याण्डबाट ५३ हजार २ सय ५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए ।

यता नेपाल वायु सेवा निगमले सातामा तीन पटक काठमाडौं–बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेको छ । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । 

नेपाल सेल्स मिसन कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रबन्धकद्वय खड्ग बिक्रम शाह र सुमन घिमिरे, सोट्टो–नेपालका निवर्तमान अध्यक्ष अनिल लामा, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुराँगाईसहित नेपाली पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।