काठमाण्डौ । मल्टिपर्पस फिनान्स कम्पनी लिमीटेडले जारी गर्न लागेको ८६५ प्रतिशतको हकप्रदका कारण कम्पनीको दोश्रो बजार मूल्यमा बिहीबार पनि बुधबार झैँ उछाल आएको छ । 

यो कम्पनीले मंगलबार एक सूचना प्रकाशित गरी ८६५ प्रतिशत हकप्रद सेयर निश्कासन प्रयोजनका लागि असार ११ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द हुने प्रष्ट्याएको थियो । कम्पनीले असार २३ गतेदेखि हकप्रद निष्कासन गर्दैछ । 

यो सूचनासँगै कम्पनीको सेयर खरीद गरी आउन लागेको हकप्रद सुरक्षित गर्ने लगानीकर्ताका कारण बुधबारजस्तै बिहीबार पनि बजार खुलेदेखि नै कम्पनीको मूल्य तीव्र गतिमा बढ्न थालेको हो। 

कम्पनीको सेयरमा खरीद चाप मात्र देखिएपछि र बिक्री गर्ने एकजना पनि नभएका कारण कारोबार खुलेको एक घन्टामै मूल्य बढेर पोजिटिभ सर्किट लागेको हो । दुई दिनको अवधिमा यो कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता ४० रुपैयाँले बढिसकेको छ । यो कम्पनीको सेयर बुधबार प्रतिकित्ता १९ रुपैयाँ बढेर २१५ पुगेको थियो भने बिहीबार २१ रुपैयाँले बढेर २३६ रुपैयाँ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको सेयरमा १२ हजार ८९ कित्ताको खरीद आदेश पोष्ट भएको छ भने बिक्रीतर्फ कुनै आदेश पोष्ट भएको छैन । 

यसले समेत कम्पनीको सेयर बिक्री गर्न चाहने लगानीकर्ता नभएका र खरीदमा मात्र चाप भएको देखाउँछ ।