काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडलाई धितोपत्र बोर्डले रु. ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ । 
 
यो बैंकले '१०.२५% माछापुच्छ्रे डिवेञ्चर-२०८३' निश्कासनको अनुमति पाएको हो । 
 
यो क्रममा बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई एक सम्झौता गरी अनुबन्ध गरिसकेको छ । 
 
माछापुच्छ्रे बैंकको ऋणपत्रमा लगानी गर्दा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा दिइने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 
 
प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००।– दरका ३०,००,००० कित्ताको जम्मा रु. ३,००,००,००,०००(तीन अर्ब रुपैयाँ मात्र) निष्काशित ऋणपत्रमा १८,००,००० (अठार लाख) कित्ता ऋणपत्र परिपत्र विधि (प्राइभेट प्लेसमेन्ट)बाट र १२,००,००० (बाह्र लाख) कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरिने बैंकले जनाएको छ । 
 
नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । 

यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।